नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको प्रदेश एक कार्यकर्ता भेला काठमाडौंमा जारी छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीनकुनेस्थित एक व्यांकेटमा प्रदेश एक सम्पर्क कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रदेश १ का इन्चार्ज सुवास नेम्वाङले आफुहरुले कुनै पनि नेतालाई कारबाही नगरेको प्रष्ट पार्नुभयो ।
आफूहरु पार्टी एकताको पक्षमा रहेको उहाँको भनाइ थियो । अर्को पक्षले कारबाहीको सिलसिला अगाडि बढाएको तर आफुहरुले कसैलाई कारबाही नगरेकाले आफुहरु एकको पक्षमा उभिएको प्रस्ट हुने उहाँको भनाई थियो ।नेता नेम्वाङले आफूले अर्को पक्षको नयाँ अध्यक्षलाई नचिन्ने समेत बताउनुभयो । उहाँले आफूले अर्को पक्षमा जाने साथीहरूको अनुहार र नाम बिर्सिसकेको बताउनुभयो ।त्यस्तै भेलामा बोल्दै शहरी विकासमन्त्री समेत रहनुभएका नेता प्रभु साहले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिलाई दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हात रहेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्रीय शासन प्रणालीमा मन्त्रिपरिषद्बाट भएका निर्णयको मुख्य दोषी प्रधानमन्त्री नै भएकाले अरुलाई दोषी बनाएर अख्तियारले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको बताउनुभयो ।तराई मधेशमा केपी ओलीको पक्षमा ठूलो लहर आएको बताउदै साहले तराई–मधेश क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाइएको भनिए पनि त्यो गलत भएको दावी गर्नुभयो ।तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने समेत उहाँको दाबी थियो ।