
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् ।आइतबार दिउँसो राजीनामा दिनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाउनुभएको छ । उहाँले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको बैठकको लागि निजी गाडीमा बालुवाटार जानुभएको थियो ।
मन्त्री पुन आज साँझ नै मन्त्री निवास पुल्चोकबाट आफ्नो डेरा बालुवाटार सर्ने प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । अहिले मन्त्री पुनका सामान ओसार्ने काम भइरहेको छ । आइतबार नै राजीनामा दिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि दुई वटै गाडी मन्त्रालयमा बुझाउनुभएको छ । गाडी मन्त्रालयमा बुझाएर उहाँ निजी गाडीमा मन्त्री निवासमा फर्किएको स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिनुभयो ।राजीनामा दिएका अरू मन्त्रीले पनि गाडी फिर्ता गर्ने मन्त्री निवास छाड्ने तयारी गरेका छन् ।