
अमेरिकामा सुन्दै अचम्म लाग्ने घटना देखिएकाे छ । त्यहाँकाे फिलाडेल्फिया शहरमा गत शुक्रबार करिब १५ सय चराहरू आकाशबाट अचानक खसेकाे र तीमध्ये अधिकांशको मृत्यु भएकाे त्यहाँका समाचार माध्यम र चराविज्ञहरूले जनाएका छन् ।
न्यूयाेर्क पाेस्टका अनुसार जाडाे याम सुरू भएर दक्षिणतिर ताताे खाेज्दै उडिरहेका ती चराहरू अचानक फुतुफुतु भुइँमा खसे । यसरी धेरै संख्यामा चराहरू अचानक भुइँमा खसेर मरेकाे देख्दा याे के विनाशकारी संकेत हाे कि भनेर त्यहाँ बासिन्दाहरूमा त्रास छाएकाे बताइएकाे छ ।
हुन त यस्ता घटना यसअघि पनि हुने गरेका थिए । सन् १९४८ मा पनि यस्तै घटना भएको थियो भने सन् २०१२ मा पनि त्यहाँ न्यूजर्सी राज्य र सन् २०१८ मा मिसाैरीमा पनि दर्जनाैँ चराहरू अाकाशबाट खसेकाे समाचारहरू अाएका थिए ।
यसपटक भने फिलाडेल्फियामा हजारभन्दा बढी चार खसेकाे बताइएकाे छ । त्यहाँ वन्यजन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्कीले फेसबुकमा स्टाटस राख्दै अघिल्लो शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म आफूले ४०० चरा बटुलेको बताएका छन् । उनले लेखेका छन्, ‘अनेकौं चरा आकाशबाट खसिरहेका थिए । के भएको हो, हामीले थाहा पाएनौं । यो निश्चित रूपमा विनाशकारी घटना हो ।’
न्यूयाेर्क पाेस्टले १ हजारदेखि १५ सयसम्म यी चराहरू विभिन्न स्थानमा खसेकाे जनाएकाे छ । यसकाे यकीन तथ्यांक भने दिइएकाे छैन । समाचारहरूका अनुसार कतिपय चराहरू लामाे दूरी उड्दै गर्दा अग्ला भवनमा र भवनमा शिशामा ठोकिएर खसेको बताइएको छ ।
अग्ला भवनका शीशा चराहरूका लागि खतरनाक भएको भन्दै केही समयअघि अमेरिकी संसदमा एक विधेयक पेश गरेर अग्लो भवनमा शीशा प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो । अमेरिका यसरी बेलाबेला चराहरू भुइँमा खसेर ठूलाे संख्यामा मर्ने गरेकाे र यसले सराेकारवालाहरूमा चिन्ता थपेकाे बताइएकाे छ ।एजेन्सी