हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो

काठमाडौँ | लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हाे ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो ।  अध्यक्ष लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो ।

लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीकाे नेतृत्वमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधिकाे टाेली सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेको थियो ।  चिनियाँ पक्षले बनाएको भवनहरु हेरेर सोमवार फर्किएका थिए ।

करिब पाँच वर्षदेखि हराएकाे ११ नम्बर सीमास्तम्भ हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको लामाले जानकारी दिनुभयाे । सीमास्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने उहाँले बताउनुभयाे । सीमास्तम्भ भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने जानकारी दिनुभयाे ।

पिलर हराएको मौका छापी लिमीको लाप्चामा नेपाली भूमि अतिक्रमण गरी चिनियाँ पक्षले भवन निमाणको गरेको लिमीका स्थानीयबासिले दाबि गर्दै आएका छन् । सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेका टोलीलाई चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको थियाे ।