प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले राजनेता जन्माउँछ : बाबुराम

saajhaonline

काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले राजनेता जन्माउने दाबी गरेका छन् ।आफैंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा ११ बुँदे तर्क अघि सारेका छन् । ‘यो प्रणालीमा पार्टीका केही नेताहरुको मात्र हालीमुहाली रहन सक्दैन र पार्टी प्रमुख भएर वा उसको निकट रहेर मात्रै कोही कार्यकारी प्रमुख बन्न सक्दैन’ भट्टराईले भने-‘ऊ आफैंमा सक्षम र लोकपि्रय पनि हुनु अनिवार्य हुन्छ ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले पार्टीहरुको आन्तरिक लोकतान्त्रीकरण गर्ने भन्दै उनले भने-‘पार्टी नेता’ मात्र होइन वास्तविक ‘राजनेता’ जन्माउँछ ।’

दलको रोलक्रमको प्रधानमन्त्री हुने पालो कुर्दा ८० वर्ष नाघ्ने नौवतबाट नयाँ पुस्ताले मुक्ति पाउने र नयाँ पुस्ताले राजनीतिक नेतृत्वको अवसर पाउने भट्टराईको तर्क छ ।

भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कुनै ‘माओवादी’ वा ‘कम्युनिष्ट’ एजेण्डा नभएको बताएका छन् । उनले भने-‘यदि कुनै व्यक्ति विशेष नै यो प्रणालीबाट निर्वाचित हुन्छ भन्ने आशंका हो भने संविधानमा अहिल्यै विशेष व्यवस्था गरेर उसलाई उम्मेदवारीबाट वञ्चित गर्ने हो वा के गर्ने हो सोचौं !’

देश, जनता र भावी पुस्ताको निम्ति नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकै व्यवस्था गरौं भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले चन्द्रमामा (अब त प्लुटोमा !) पुग्ने लक्ष्य राख्ने हो भने बयलगाडा होइन अन्तरिक्षयान नै प्रयोग गर्नु पर्ने बताए ।