“अपराध नियन्त्रण गर्न सरकार सफल भएको छ”:- गृहमन्त्री थापा

पोखरा – सरकार गठनको एक वर्षलाई समीक्षा गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । सरकारले एक वर्षमा विकासको आधार तयार पारेको र शान्ति सुरक्षा कायम गर्न सफल भएको उनको भनाइ छ ।

पोखरामा आइतबार भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा गृहमन्त्री थापाले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको बताए । ‘पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘राष्ट्रिय अखण्डता र देशको विकासमा समाहित गर्ने उनीहरुले सहमति गरेका छन् ।’

संविधानविरोधी समूह अझै समस्या रहेकाले उनीहरुलाई पनि सहमतिमा ल्याउन सरकार लागिरहेको थापाले बताए । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’

सरकारले विप्लव समूहको असंवैधानिक गतिविधिमाथि प्रतिवन्ध लगाएको उनको भनाइ छ । ‘संविधान र कानुनले नै त्यस्ता गतिविधिमाथि प्रतिवन्ध लगाएको हो,’ उनले भने, ‘उनीहरु पनि सहमतिमा आउँछन् ।’ अपराध नियन्त्रण गर्न पनि सरकार सफल भएको थापाको दाबी छ ।

मौसममा देखिएको अस्वाभाविक उतारचढावले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको र त्यहाँ पुनर्निमाणको काम छिटोभन्दा छिटो गर्न निर्णय भइसकेको उनको भनाइ छ ।

प्रदेश प्रहरी गठनका निम्ति छिटै बाटो खोलिदिने थापाको भनाइ थियो । संसदमा छलफल हुन नपाएकाले प्रदेश प्रहरी सम्बन्धी ऐन ल्याउन नसकिएको थापाले बताए ।

यसअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताए । जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनले उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।

संसदमा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालीन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए ।