महाधिवेशन बोलाउदैन ,जिल्ला सभापतिको निर्णय सामना गर्न तयार छु : देउवा

विराटनगर – पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट जिल्ला सभापतिको निर्णय सामना गर्न तयार रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशन बोलाउने पहल गरे पनि आफू फेस गर्न तयार रहेको जानकारी दिए । पार्टी विशेष महाधिवेशन बोलाउने पक्षमा छैन, उनले स्पष्ट पारे, सभापतिले कल गरे फेस गर्न तयार छु।

महाधिवेशनको सुझाव विपरित पार्टीको केन्द्रीय समितिले विधान परिमार्जन गरेको भन्दै जिल्ला सभापति असन्तुष्ट छन् भने काठमाडौंमा ५१ जिल्लाका सभापतिको भेला भएको छ।गुटगत भेलामा सभापतिविरुद्ध मोर्चाबन्दी भएको जानकारी पाएपनि त्यसका लागि आफू तयारी भएको देउवाको भनाइ थियो।

गत फागुन १३ को केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा पार्टीको विधान परिमार्जन गर्ने निर्णय गरेको थियो। महासमिति बैठकको सुझावविपरित भएको भन्दै उक्त निर्णय तत्काल सच्याउनु पर्ने जिल्लाका सभापतिको जोडदार माग रहेको छ।

पछिल्लो समय काठमाडौंमा भेला भएका जिल्ला सभापतीइतर देउवा गुटका रहेका छन्।फरक प्रशंगमा देउवाले सरकारले जनताको अपेक्षा अनुसार नभइ मनोमानी ढंगले काम गरेको आरोप लगाएका छन्। संवैधानिक निकायको नियुक्तिप्रति असन्तुष्ट रहेका देउवाले भने, सरकारले रत्तिभर सल्लाह गरेन, यदि आवश्यता नै पर्‍यो भने हामी आन्दोलन गर्न तयार छौं । उनले सरकारका गलत कार्यको विरोध गर्ने बताए। न्यायालयमा स्वतन्त्र व्यक्तिको मात्र उपस्थिति हुनुपर्ने कांग्रेसको माग रहे पनि त्यसो नभएको भन्दै उनले पार्टीको आपत्ति रहेको बताए।