अमृता लुंगेली मगरको स्वरमा ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजारमा तिहार विशेष गीत सार्वजनिक हुने क्रम बढिरहेका बेला चर्चित गायिका अमृता लुंगेली मगरको स्वरमा सजिएको देउसी भैलो गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ। तिहारको सांस्कृतिक महत्त्व, पारिवारिक आत्मीयता, आपसी सद्भाव र देउसी भैलोको मौलिक परम्परालाई समेटेर तयार पारिएको उक्त गीतले नेपाली दर्शक तथा श्रोतामाझ तिहारको उल्लास थप्ने अपेक्षा गरिएको छ।

नेपाली समाजमा तिहारलाई दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रकट गर्ने विशेष पर्वका रूपमा लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै टीका तथा माला लगाइदिने परम्परा छ। त्यस्तै, देउसी भैलो खेल्ने, नाचगान गर्ने र आपसी खुसी साटासाट गर्ने चलनले तिहारलाई थप विशेष बनाउँदै आएको छ। यही मौलिक सांस्कृतिक परम्परालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय गायिका अमृता लुंगेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायतका गीत चर्चित छन्।

सानैदेखि गायनमा रुचि राख्दै आएकी अमृता हाल अमेरिकालाई कर्मथलो बनाएर पनि नेपाली गीतसंगीतमा सक्रिय छिन्। सांगीतिक क्षेत्रमा लामो समयको संघर्ष र योगदानका क्रममा उनले दर्जनौँ अवार्ड तथा सम्मान प्राप्त गरेकी छन्। प्राप्त उपलब्धिपछि उनी गायिकाका रूपमा एक्स्ट्राअर्डिनरी भिसा प्राप्त गरी अमेरिका पुगेकी हुन्।

‘झिलीमिली देउसी भैलो’ गीतमा स्वर सम्राट राजु परियार, वरिष्ठ गायक घमेश दुलाल, गायक तथा सर्जक सरोज बिरही कार्की, वरिष्ठ गायिका सीता थापा, गायिका राधिका हमाल र अमृता लुंगेली मगरलगायत कलाकारहरूको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन्।

गीतको भिडियो खगेन्द्र गिरीको निर्देशनमा तयार भएको हो। भिडियोमा केशव विश्वकर्माको छायांकन र कल्पेश विश्वकर्माको सम्पादन रहेको छ। भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्।

गायिका अमृता लुंगेली मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘झिलीमिली देउसी भैलो’ ले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको उल्लासलाई संगीतमार्फत दर्शकमाझ पुर्‍याउने विश्वास गरिएको छ।