काठमाडौँ । काठमाडौँको जडीबुटीमा भएको सवारी दुर्घटनामा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको ज्यान गएको छ।
शुक्रबार भक्तपुरतर्फ जाँदै गरेको बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन बोक्ने ट्याङ्करले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर पछि मोटरसाइकलमा सवार ३९ वर्षीया कार्की गम्भीर घाइते भएकी थिइन्। प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा कार्कीसँगै मोटरसाइकलमा रहेका उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्। काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका कँडेलको उपचार भइरहेको बताइएको छ।
मृतक कार्की दोलखाबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।