स्थानीय तहले अधिकारसंगै स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारी प्रति जवाफदेही हुन सक्नुपर्छ।

ललितपुर । स्थानीय तहले अधिकारसंगै स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारी प्रति जवाफदेही हुन सक्नुपर्छ भन्नेमा आयुर्वेदिक स्वास्थ क्षेत्रका सरोकारवालाहरुले जोड दिएका छन् ,

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले शनिबार ललितपुरमा आयोजना गरेको आयुर्वेद सेवा तथा कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा धारणा राख्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक  डाक्टर पुष्पराज पौडेलले नागरिक आरोग्य सेवा स्थानीय तहले प्रदान गर्नुपर्छ भन्दै स्वस्थ्य नेपाली समृद्ध नेपाल बनाउने राज्यको जिम्मेवारी अनुसार स्वास्थ्य सेवा दिन स्वास्थ्य सेवाका खटिएका कर्मचारीको दायित्व प्रभावकारी स्वास्थ्य सेवा दिनु हो  भन्नुभयो।
“आधारभूत तहको स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहको हो, आफूलाई सहज हुनेगरी भन्दा सेवाग्राहीहरुलाई सहयोग पुग्ने गरी सेवा दिनुपर्छ, सरकारी तलब खाने भएपछि जिम्मेवार र जवाफदेही भएर काम गर्न ध्यान दिनुस्, जिम्मेवारी अरुतीर नफर्काउनुस्, जागिर र जिम्मेवाररीमा हुँदा केही नगर्ने, सेवा निवृत्त भएपछि ठूलाठूला कुरा गरेर काम हुँदैन” उहाँले भन्नुभयो।

योजना तर्जुमा गर्दा स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहको योजना तर्जुमा गर्ने समयमा ध्यान दिनुस् भन्दै उहाँले योजना तर्जुमा गर्दा ध्यान दिंदा कार्यान्वयनमा सहज हुन्छ भन्नुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डाक्टर अमुल्य दाहालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई बार्षिक कार्यको तथ्यांक मात्रै प्रस्तुत गर्ने भन्दा पनि सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने गरी योजना बनाउनुहोला भन्नेमा मार्गनिर्देश गर्नुभयो।

“सरसफाई, व्यवहार र आचरणलाई पनि सुधार्न ध्यान दिनुहोला, हरेक मानिसको स्वास्थ्यसंग काम गर्ने कुरा सामान्य हैन, जिम्मेवारीसंगै जवाफदेही र समन्वयकारी भूमिकालाई पनि जोड दिनुहोला।” उहाँले भन्नुभयो।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका प्रमुख आयुर्वेद कन्सल्टेन्ट विज्ञ डाक्टर पुनम नेपालले पछिल्लो समय आयुर्वेद उपचार पद्धतिका बारेमा आम सर्वसाधारणमा चासो बढ्दै गएको तथ्यांक प्रस्तुत गर्दै जनमानसमा अझै थप सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो।

स्त्रीरोग तथा प्रसुती, मानसिक एवम मनोविज्ञान र वालरोग विशेषज्ञ सेवालाई प्राथमिकता दिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले चालू आर्थिक वर्षको ६ महिनामा ४७.३४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको जानकारी गराइएको छ। वैकल्पिक चिकित्सालय ललितपुरमा प्रत्येक बुधबार बिहान ८ बजेदेखि ‘पथ्य आहार कार्यक्रम’ सञ्चालन समेत गर्दै आएको छ । बागमती प्रदेश सरकार,  स्वास्थ्य मन्त्रालयको पहलमा सञ्चालन गरिएको पथ्य आहार कार्यक्रममार्फत जनतालाई ऋतु अनुसारको आहारविहारबारे जानकारी दिइँदै आएको छ ।