राइनासका एचआईभी संक्रमितलाई पोषण खर्च वितरण

लमजुङ, ९ पुस | लमजुङको राइनास नगरपालिकाले एचआईभी संक्रमितलाई आर्थिक सहयोग गरेको छ । २३ जना एचआईभी सक्रंमितलाई एआरटि सेवा लिन यातायात खर्च तथा पोषणयुक्त खानाका लागि प्रतिव्यक्ति ९ हजार ५ सयका दरले सहयोग गरेको राइनास नगरपालिका उपमेयर धनकुमारी गुरुङले बताइन् । उनका अनुसार नगपालिका अन्तर्गतका संक्रिमितले बेसीशहरस्थित लमजुङ जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।

नगरपालिकाले संक्रमितलाई एआरटी सेवा लिनका लागि यातायात खर्च तथा पोषणयुक्त खानाका लागि सहयोग गर्न पोषण खर्च स्वरुप सहयोग गरेको राइनास नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले बताए ।

संक्रमितलाई सहयोग रकम हस्तान्तरण गर्दै मेयर सिंहबहादुर थापाले एचआईभी संक्रमितलाई समाजमा विभेद नगरी आम नागरिक सरह बाँच्न पाउनुपर्ने बताए ।

स्वास्थ्य शाखा प्रमुख नानीबावु ढकालले एचआईभी संक्रमणको अवस्था तथा एचआईभी/एड्सको वारेमा जानकारीसँगै स्वास्थ्य बिमा कार्यक्रमबारे जानकारी गराएका थिए ।