मन्त्रिमण्डल बिस्तार नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा एक मन्त्री थपेका हुन्।
देउवा प्रधानमन्त्री बनेको ७१ दिनपछि परराष्ट्र मन्त्री बनेका खड्काको कार्यव्यस्तता यति छ कि उनी आजै राति विदेश जाँदैछन्।
मन्त्रीको सपथ खाएपछि उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गएर पदवहाली गरेका छन्। अमेरिकाको न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा जाने नेपाली टोलीको नेतृत्व खड्काले नै गर्दैछन्।
खड्का झन्डै तीन दशकदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन्। उनको पुर्ख्यौली घर भोजपुर हो। खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमै भएको थियो। पछि उनको परिवार उदयपुर बसाइ सर्यो।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ मा उनको घर छ। उनी पछिल्ला तीन आमनिर्वाचनमा लगातार उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भइरहेका छन्।
कांग्रेस उदयपुरका एक नेताका अनुसार खड्काले २०५० सालतिर पार्टीको क्रियाशील सदस्यता लिएका हुन्।
खड्का भने आफू २०२३ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहेको बताउने गर्छन्। तर त्यतिबेला नेविसंघ पनि गठन भएको थिएन। २०२७ सालमा नेविसंघ गठन भए पनि नेविसंघमा खड्काले काम गरेनन्।
खड्का २०५६ सालको आमनिर्वाचनमा उदयपुरबाट चुनाव उठे पनि त्यसबेला एमालेसँग पराजित भए। त्यसपछि २०६४, २०७० र २०७४ सालमा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निरन्तर उनी नै चुनाव जित्दै आइरहेका छन्।
उहाँ पहिले किसुनजीतिर, त्यसपछि देउवा, सुशील कोइराला हुँदै पौडेल र फेरि देउवातिर लाग्नुभएको छ,’ कांग्रेसका ती नेता भन्छन्, ‘संगठन विस्तारमा मन लगाएर काम नगर्ने र फाइदा हेरेर गुट फेर्नुहुन्छ।’
गठबन्धन र पार्टीभित्रैका अरू आकांक्षीलाई उछिनेर ७३ वर्षीय खड्का परराष्ट्र मन्त्री बनेका छन्। खड्का चुनौतीपूर्ण अवस्थामा परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका छन्।