स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, सेनालाई १००० शैय्याको अस्पताल बनाउन निर्देशन,

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । 

यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने  पनि ओलीले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल अस्पतालका रुपमा सञ्चालन गरिने बताएका छन् । यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार शैय्याको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिए । 

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए । 

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए । यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।