
कोरोना सन्त्रासवीच दशैंको चहलपहल बढ्दैछ । शहरमा अस्थायी बसोबास गर्नेहरु आफ्नो मुलथलो फर्कन सुरु गर्दैछन् । काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढ्दै गएको बताइन्छ ।लामो यात्रा अहिले त्यती सहज छैन । त्यसो त कतिपयका निम्ती सामान्य दिनमै पनि लामो यात्रा कष्टकर हुनेगर्छ । गाडी चढ्नसाथ उनीहरुले आफुलाई अस्वस्थ महसुष गर्न थाल्छन् । गाडीको गन्ध र तातो बाफले उकुसमुकुस बनाउँछ । यात्राभर वाकवाक लाग्छ । वान्ता आउँछ । शरीर शिथिल हुन्छ । टाउको दुख्छ । यस्तो समस्या धेरैलाई हुनेगर्छ ।
यात्राको क्रममा हुने यस किसिमको समस्यालाई मोशन सिकनेस भनिन्छ । यो यात्रा अवधिभर मात्र रहने समस्या हो । यसको दीर्घकालिन असर भने हुँदैन ।मोशन सिकनेसको समस्या सबैलाई हुँदैन । जतिले यो समस्या झेल्नुपर्ने हुन्छ, उनीहरुको निम्ति लामो यात्रा निकै कष्टकर हुन्छ । यस्तो अवस्थामा सहज र आनन्ददायक यात्राको कुनै उपाय अपनाउन सकिएला ?
यसका निम्ति केही उपाय छन् । यात्रा गर्नुअघि उक्त विधीहरुको प्रयोग गर्न सकिन्छ ।
यदि कसैलाई गाडीमा बस्नासाथ टाउको दुख्ने वा वान्ता हुने समस्या छ भने गाडीको अघिल्लो भाग वा बीच भागको सिटमा बसौं । पछिल्ला सिटमा बस्नाले मोसन सिकनेस हुनसक्छ । जसका कारण वान्ता हुनसक्छ । भोको पेट वा खाली पेटका कारण पनि कयौ मानिसलाई मोसन सिकनेस हुनसक्छ । यात्राका दौरान यदी कसैलाई मोसन सिकनेस छ भने कागती पानीको सेवनले पनि मोसन सिकनेसबाट राहत प्रदान गर्दछ । गाडीमा यात्रा गर्दा पढाई लेखाईलाई टाढै राखौ र सिधा अगाडी हेरौ । यात्राको दौरान झयालबाट बाहिर हेरिरहेको खण्डमा पनि मोसन सिकनेस भई वान्ता हुनसक्छ ।
अदुवाको सेवनले पनि मोसन सिकनेस वा वान्ता रोक्न सकिन्छ । अदुवामा एंटीमेटिक तत्व हुन्छ । एंटीमेटिक यस्तो तत्व हो जसले वान्ता वा चक्कर आउन दिदैन । मोसन सिकनेस रोक्ने विभिन्न रोगमध्य ल्वाङ्ग पनि एक हो । ल्वाङ्गलाई मुखमा राख्नाले पनि वान्ता हुन दिदैन ।