काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आउनुभएको छ। सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिनुभएको छ।
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल जानुभएको थियो। डा. सुनिल शर्मालाई भेटेर उहाँले घाइतेहरूको अवस्था समेत बुझ्नुभएको थियो। अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताउनुभयो।
शर्माले भन्नुभयो, “तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।”
गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिनुभयो। मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुग्नुभएको थियो। भेट्नेबित्तिकै उहाँले भन्नुभयो, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।” मन्त्री गुरुङले अंकमाल गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।