ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा सोमबार (माघ १२ गते) महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा २८७ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका थिए, जसमध्ये १३४ जना महिला र १५३ जना पुरुष रहेका जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
शिविरअन्तर्गत परिवार नियोजन सेवातर्फ ३ जनाले भ्यासेक्टोमी सेवा लिएका छन् । यस्तै, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका ७० जनाले आवश्यक जाँच तथा उपचार सेवा प्राप्त गरेका छन्। प्रजनन स्वास्थ्य सेवाअन्तर्गत ४२ जनाको एचपीभी डीएनए परीक्षण गरिएको थियो भने ३८ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । तीमध्ये ५ जना शंकास्पद देखिएपछि अल्ट्रासाउन्डका लागि सिफारिस गरिएकोमा पछि सबैको अवस्था सामान्य रहेको पुष्टि भएको जनाइएको छ ।
शिविरमा ५२ जनाले अल्ट्रासाउन्ड सेवा लिएका थिए । अल्ट्रासाउन्ड परीक्षणबाट विभिन्न स्वास्थ्य समस्या पहिचान गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, शिविरमा १२० जनाले सामान्य स्वास्थ्य परीक्षण सेवा तथा १२१ जनाले नसर्ने रोगसम्बन्धी परीक्षण सेवा लिएका छन्।
जनस्वास्थ्य कार्यालय ललितपुरले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सहज र निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। स्थानीयवासीले शिविरबाट प्रत्यक्ष लाभ लिन पाएको भन्दै जनस्वास्थ्य कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।