चित्त नबुझेको पक्ष पुनरावेदन जानु सामान्य कानुनी प्रक्रियाः मेयर महर्जन

ललितपुर । न्यायिक प्रक्रियामा विश्वास गर्ने लोकतान्त्रिक राज्य व्यवस्थामा चित्त नबुझेको पक्षले माथिल्लो अदालतको ढोका ढक्ढक्याउनु अस्वाभाविक होइन । यही संवैधानिक अधिकार प्रयोग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसमेत जोडिएको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्‍यो । यसलाई लिएर नगरबासीबीच अनावश्यक भ्रम फैलिन नदिन नगरप्रमुख महर्जनले स्पष्ट र संयमित प्रतिक्रिया दिएका छन् ।

“यसलाई नियमित कानुनी प्रक्रियाका रूपमा लिनुहोला,” नगरप्रमुख महर्जन भन्छन्, “विशेष अदालतबाट हामीले सफाइ पाइसकेका छौँ । तर त्यस फैसलाप्रति चित्त नबुझेको पक्षले उपल्लो अदालतमा जाने अधिकार संविधानले सबैलाई दिएको छ । अख्तियारले पनि त्यही अधिकार प्रयोग गरेको मात्र हो ।”

नगरप्रमुख महर्जनको भनाइमा कुनै आक्रोश छैन, कुनै आरोप–प्रत्यारोप छैन । बरु न्यायालयप्रति सम्मान र विधिप्रतिको भरोसा झल्किन्छ । उनी भन्छन्, “अदालतले आवश्यक ठानेमा हामी जहिल्यै उपस्थित हुन तयार छौँ । हामी न्यायिक प्रक्रियामा पूर्ण विश्वास गर्छौँ ।”

महर्जनले मुद्दाको मूल विषय नै गलत ढंगले व्याख्या गरिएको दाबी गर्छन् । गोदावरी नगरपालिकाले लगाएको कर ‘निकासी कर’ भएको र त्यसलाई ‘उत्खनन’ का रूपमा अर्थ्याइनु नितान्त भ्रामक भएको उनको स्पष्ट भनाइ छ । यही भ्रमकै कारण विकास निर्माणसँग जोडिएको विषयलाई अनावश्यक विवादमा तानिएको उनको बुझाइ छ ।

नगरप्रमुख महर्जन नगरबासीलाई ढुक्क रहन आग्रह गर्छन् । “हामीले विशेष अदालतबाट सफाइ पाएका छौँ, भोलि पनि सर्वोच्च अदालतबाट फैसला हाम्रो पक्षमै आउनेमा विश्वस्त छौँ,” उनी आत्मविश्वासका साथ भन्छन् ।

उनका अनुसार गोदावरी नगरपालिकाले हालसम्म गरेका विकास निर्माण, पूर्वाधार विस्तार, जनहितका कार्यक्रम र पारदर्शी कार्यशैलीले केहीलाई असहज बनाएको हुन सक्छ । त्यसै कारण सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत लक्षित र संगठित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उनले सङ्केत गर्छन् ।

“हामी र हामीले गरेका विकासका कामविरुद्ध भइरहेको भ्रामक प्रचारको पछि नलाग्न गोदावरी नगरपालिकाबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु,” महर्जनको भनाइ छ ।

नगरप्रमुख महर्जन अन्ततः सबै कुरा न्यायालयले टुंग्याउनेमा विश्वस्त छन् । “कानुन, विधि र पारदर्शिताको बाटोमै नगरपालिका अघि बढिरहेको छ । अन्तिम फैसला अदालतबाट आउनेछ, र त्यसलाई हामी सबैले सम्मान गर्नेछौँ,” उनी भन्छन् ।

गोदावरीका धेरै नगरबासीका लागि यो विषय कुनै व्यक्ति विशेषको मात्र होइन, समग्र नगरको विकास यात्रासँग जोडिएको प्रश्न हो । त्यसैले पनि नगरप्रमुख महर्जनले संयम, धैर्य र विश्वासका साथ न्यायिक प्रक्रियालाई हेर्न आग्रह गरेका छन् ।