
ललितपुर । ‘सार्वजनिक चासोका सूचना समयमै उपलब्ध हुनुपर्छ, ढिलासुस्ती वा लुकाछिपी होइन ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले सोमबार पत्रकारहरूसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका कार्यसमितिका सदस्यहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले सूचनाको हकअन्तर्गत नागरिकले पाउने अधिकारलाई व्यवस्थित र सहज बनाउन आफू प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले जिल्लाभित्रका सरकारी तथा प्रशासनिक निकायहरुलाई पत्रकार वा सर्वसाधारणले मागेका सूचना पत्राचारमार्फत सहजै उपलब्ध गराउन निर्देशन दिने जानकारी पनि दिए ।
‘ललितपुर सफा, सुरक्षित र सांस्कृतिक सहर हो । यहाँका निकायले दिदै आएका सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेछ । सार्वजनिक सूचना प्रवाहलाई सहज पार्न मैले पहिलो प्राथमिकतामै राखेको छु,” उनले भने ।
त्यस्तै समाजमा दिन प्रतिदिन बढ्दै गएको लागुऔषधको समस्या ‘सामाजिक क्यान्सर’ भएको उल्लेख गर्दै प्रजिअ घिमिरेले यसविरुद्ध दृढ अभियान सञ्चालन गर्ने बताए । उनका अनुसार, “लागुऔषध सेवन गर्ने मध्ये ७० प्रतिशतभन्दा बढी युवाहरु साथीभाइको संगतका कारण फस्ने गरेका छन् ।” त्यसैले उनले ललितपुर जिल्लामा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
त्यस्तै गरी आगामी चाडपर्वलाई दृष्टिगत गर्दै बजारमा हुने कृत्रिम मूल्यवृद्धि, नापतौलको त्रुटि तथा उपभोक्तामैत्री सेवामा देखिन सक्ने अनियमिततामाथि विशेष ध्यान दिइने प्रजिअ घिमिरेले जनाए । उनले शान्ति–सुरक्षा कायम गर्दै बजार अनुगमनलाई कडाइ गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका केही कार्यालयहरुमा अझै पनि सूचना लुकाउने प्रवृत्ति कायम रहेकोप्रति चिन्ता व्यक्त गरे । उनले प्रजिअ घिमिरेसँग सो प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै, “जिल्लाका सबै कार्यालयका सूचना अधिकारीहरुले आफ्ना सम्पर्क नम्बर खुला गर्नुपर्छ, त्यसो भएमा सञ्चारकर्मीलाई समाचार संकलनमा सहजता मिल्नेछ,” भने । अध्यक्ष कार्कीले पत्रकारहरूलाई निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण सुनिश्चित गर्न प्रजिअको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
भेटघाट कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, ललितपुर जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रजिअ सुमन घिमिरे गत शुक्रबार मात्र जिल्लामा हाजिर भएका हुन् । जिम्मेवारी सम्हाल्दै उनले तत्कालै पत्रकारहरुसँग भेटघाट गरेर आफ्नो कार्यशैली सार्वजनिक गरिनु प्रशासन र सञ्चारबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकारात्मक सङ्केतको रूपमा लिइएको छ ।