२२औं राष्ट्रिय धान दिवस धनकुटामा विविध कार्यक्रमसहित सम्पन्न

धनकुटा, असार १५ – कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियान धनकुटाको आयोजनामा धनकुटाको पात्ले खोलास्थित खेतमा बेठी सहित रोपाइँ गर्दै २२औं राष्ट्रिय धान दिवस उल्लासपूर्वक मनाइएको छ। कार्यक्रममा धान रोप्ने परम्परागत बेठी शैलीलाई पुनर्जीवित गर्दै सांस्कृतिक झल्कोसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था, निजामती आवासीय विद्यालयलगायत विभिन्न संघ–संस्थाको उल्लेखनीय सहभागिता रहेको थियो। यसै अवसरमा निशान जागरुक नौमती बाजा सांस्कृतिक समूहकी महिला सदस्यहरूले रोपाइँ बेठीमा नौमती बाजा बजाएर विशेष सांस्कृतिक झल्को प्रस्तुत गरेका थिए।

प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटा उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथिहरूले रोपाइँ कार्यक्रममा स्वयं धान रोपी सहभागिता जनाएका थिए।

कार्यक्रमका आयोजक संस्था महिला अभियानका अध्यक्ष तारा तितुङले बेठी, असारे भाका, बाउसे–रोपाहारको दोहोरी लगायतका परम्परागत रोपाइँ संस्कृतिहरू नयाँ पुस्तामा हराउँदै गइरहेकाले त्यसको संरक्षण र प्रवर्द्धन आवश्यक भएको बताए। “खेती, किसानी र माटो बिना मानिसको जीवन चल्दैन भन्ने सन्देश युवा पुस्तालाई दिनु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो।

कार्यक्रमले परम्परा संरक्षणसँगै कृषि पर्यटन प्रवर्द्धनतर्फ पनि सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ थियो।