तेक्वान्दोको अन्तर्राष्ट्रिय उच्च अनुसन्धान केन्द्र निर्माण शैलुङमा हुने

511

दोलखाको शैलुङ गाउँपालिकास्थित कालापानीमा तेक्वान्दोको अन्तर्राष्ट्रिय उच्च अनुसन्धान केन्द्र निर्माण हुने भएको छ।
आइतबार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले उक्त अनुसन्धान केन्द्रको लागि शिलान्यास गरेका हुन्।

२८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेको थोरै स्थान मध्ये एक हुने तथा नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण तालिम लिने महत्त्वपूर्ण ठाउँ हुने गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले जानकारी दिए।

डिपिआरअनुसार कुल लागत २७ करोड हुने यो आयोजनाका लागि हाल नेपाल सरकारले १० करोड विनियोजन गर्ने गरी स्रोत सुनिश्चित गरिएको छ। बाँकी रकम आगामी आर्थिक वर्षमा थप्दै जाने समझदारी बनेको छ।

आयोजना निर्माणका लागि शैलुङ गाउँपालिका र नेपाल तेक्वान्दो संघ केन्द्रबीच सहमति भएको तर कोरोना महामारीका कारण थप प्रक्रिया अघि बढ्न सकेको थिएन।नेपाली खेल जगतको नयाँ गन्तव्य यो आयोजनाले शैलुङ गाउँपालिकालाई खेलकुद, पर्यटन, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा मुल प्रवाह तान्ने र समग्र दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लालाई सकारात्मक दिशामा धकेल्ने उनको भनाइ छ।

दुई वर्ष अघि नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष र शैलुङ गाउँपालिका बीच महत्त्वपूर्ण छलफल गरी निर्माण प्रक्रिया अघि बढाउने समझदारी भएको अध्यक्ष दुलाल बताउँछन्।

Previous articleगोसाईकुण्ड गाउँपालिकाकाे आफ्नै प्रशासनिक भवनमा
Next articleकर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी

Leave a Reply