रुस-युक्रेन युद्धको असर :विश्वमा गहुँ, तेल, ग्यास र कोइलाको चरम अभाव हुने

553

एजेन्सी, केवल पश्चिमी प्रतिबन्धमात्रै होइन, युक्रेनमा रुसी हमलाले आपूर्ति शृङ्खलामा आएको समस्याले पनि बजारमा विभिन्न बस्तुको मूल्य बढेको छ । युक्रेनमा रुसको हमलापछि उक्त क्षेत्रको धातु र अन्नको आपूर्तिमा पनि रोकावट आएको छ । कयौं पश्चिमा देशले पहिले नै रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाइसकेका छन् । रुस र युक्रेनले विश्वको कमोडिटी बजारमा ठूलै रणनीतिक भूमिका निर्वाह गर्छन् । दुवै देश आधारभूत कच्चा पदार्थका ठूला निर्यातक हुन् । गहुँदेखि लिएर तेल, ग्यास, कोइला बाहेक अन्य मूल्यवान धातुका ठूला आपूर्तिकर्ता मुलुक हुन् युक्रेन र रुस ।तर रुस र युक्रेनको लडाइँले यी बस्तुको आपूर्ति रोकिएका छन् । यसले कोभिडबाट माथि उठ्दै गरेको विश्वको अर्थव्यवस्थालाई ठूलै धक्का लाग्ने आशंका पैदा भएको छ । तर चार किसिमका बस्तुहरु जसको आपूर्ति लामो समयसम्म रोकिएमा विश्व अर्थव्यवस्थाका सामु कठिनाइ खडा हुन सक्छ ।

तेल–ग्यास
रुसको अर्थव्यवस्था कच्चा तेल र ग्यासको निर्यातमा निर्भर रहँदै आएको छ । युक्रेनमाथिको हमलाभन्दा पहिले विश्वमा प्रयोग हुने प्रत्येक १० व्यारेलमध्ये १ व्यारेल कच्चा तेल रुसको हुने गर्दथ्यो । तर युद्धका कारण अमेरिका, क्यानडा र बेलायतले रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाएका छन् ।विशेषज्ञका अनुसार लडाइँका कारण तेल र ग्यासको मूल्यमा वृद्धि हुन सक्छ । किनकि रुस १ दिनमा ५० लाख ग्यालन तेल निर्यात गर्छ । आपूर्ति रोकिनाले विश्वव्यापी बजारमा यसको पूर्ति गर्न मुश्किल हुने छ ।

तेल निर्यातक देशका संगठन ओपेकका सेक्रेटरी जनरल मोहम्मद बराकिन्डोले रुसी उत्पादनको पूर्ति मुश्किल भएको बताए । जुन देशले रुसको तेल कम आयात गर्छन्, उनीहरुलाई पनि अप्ठ्यारो महसुस भएको छ । विश्वव्यापी बजारमा तेलको मूल्य अझै पनि बढ्न सक्छ ।

दुवै देशलाई युरोपको ‘रोटीको टोकरी’ अर्थात् ‘ब्रेड बास्केट’ भनिन्छ । विश्व बजारमा आउने गहुँमा २९ प्रतिशत र मकैको १९ प्रतिशत हिस्सा युक्रेन र रुसको छ । सूूर्यमुखी तेलको सबैभन्दा ठूलो उत्पादक युक्रेन हो । यो मामिलामा रुस दोस्रो स्थानमा छ । एस एन्ड पी ग्लोबल प्लेटका अनुसार दुवै मिलेर सूूर्यमुखी तेलको उत्पादनमा ६० प्रतिशत हिस्सा राख्छन् । तर लडाइँका कारण कमोडिटीको भाउ १४ वर्षकै उच्च विन्दुमा पुगेको छ । विशेषज्ञका अनुसार लडाइँले अन्नको उत्पादनमा असर पर्छ । यदि रुस र युक्रेनको लडाइँका कारण आपूर्ति रोकियो भने अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य दुुई गुुणाले वृद्धि हुनेछ ।

टर्की र इजिप्टले आफ्नो आवश्यकताको ७० प्रतिशतन गहुँ रुस र युक्रेनबाट आयात गर्छन् । युक्रेन चीनको प्रमुख मकै आपूर्तिकर्ता मुलुक हो । वर्ल्ड फूडका निर्देशक डेभिड बेसले लडाइँका कारण विश्वभरि खाद्य पदार्थको मूल्यमा आउने वृद्धिले गरिब देशमा व्यापक असर पर्ने बताएका छन् ।

मेटल
रुस आल्मुनियमदेखि लिएर तामा र कार बनाउन प्रयोग हुने धातुको ठूलो निर्यातकर्ता मुलुक हो । यो विश्वको चौथो ठूलो आल्मुनियम निर्यातक हो । यो स्टिल, निकेल, पालाडियम र तामाको शीर्ष ५ निर्यातकमा समावेश छ । युक्रेन इन्डस्ट्रियल धातुको पनि व्यापक ठूलो उत्पादक हो । पालाडियम र प्लाटिनियमको निर्यात बजारमा पनि यसको महत्वपूर्ण हिस्सा छ । यसको अर्थ आगामी समयमा आल्मुनियमको डिब्बामा प्राप्त हुने बस्तु र तामाको तार महँगो हुन जान्छ ।

लन्डन मेटल एक्सचेन्जका निर्देशक म्याथ्यू चेम्बरलेनले भने, ‘यस वर्षको सुरुवातदेखि हालसम्म आल्मुनियम र निकेलको मूल्यमा ३० प्रतिशतसम्म वृद्धि भइसकेको छ । यसको असर तल्लो तहसम्म जान्छ किनकि आल्मुनियमको डिब्बामा बिक्री हुने पेय पदार्थ महँगो हुन जान्छ । कपर वायरिङ पनि महँगो हुन जान्छ ।’

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अस्ट्रेलिया र चीनपछि रुस सुनको तेस्रो ठूलो उत्पादक मुलुक हो । गत वर्ष रुसले ३५० टन सुन उत्पादन गरेको थियो । विगत केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ । यदि रुस र युक्रेनको लडाइँ जारी रह्यो भने सुनको मूल्यमा थप वृद्धि हुनेछ ।

रुस र युक्रेनबाट आपूर्ति हुने निकेल र पालाडियम पनि महँगो हुन सक्छ । पालाडियमको आपूर्तिमा प्रतिबन्ध लाग्यो भने विश्वभरि सवारी साधनको निर्माता कम्पनी सामु कठिनाई आउन सक्छ । निकेलको प्रयोग लिथियम–आइरन ब्याट्री बनाउनमा हुन्छ । मार्चको सुरुवातमा यसको मूल्य ७६ प्रतिशतले बढिसकेको छ । पालाडियम पनि महँगो भइरहेको छ । यसको प्रयोग कारमा क्याटालिक कन्भर्टर बनाउनमा हुन्छ । विश्वभरिमा पालाडियमको उत्पादनमा ३८ प्रतिशत हिस्सा रुसको छ ।

नियोन
युक्रेन क्रिप्टाने र नियोन जस्ता शुद्ध ग्यासको प्रमुख आपूर्तिकर्ता हो । नियोनको प्रयोग सेमिकन्डक्टर बनाउनमा हुन्छ । यो कार बनाउनमा प्रयोग हुन्छ । ट्रेडफोर्सको डेटा अनुसार विश्वमा निर्यात हुने शुद्ध नियोन ग्यासमा युक्रेनको हिस्सा लगभग ७० प्रतिशत छ । अमेरिकामा चिप उद्योगले जति नियोन ग्यासको प्रयोग गर्छ, त्यसको ९० प्रतिशतभन्दा बढी हिस्सा युक्रेनबाट आउँछ । यो आपूर्तिमा अवरोध आयो भने माइक्रेचिपको व्यापक कमी उत्पन्न हुन सक्छ । गत वर्षदेखिनै माइक्रोचिपको आपूर्ति घटेको छ ।

मूडिज एनालाइटिक्सको टिम यूवाले हालैको एक रिपोर्टमा लेखेको छ, ‘रुसले विश्वको ४० प्रतिशत पालाडियमको आपूर्ति गर्छ । युक्रेन पनि विश्वमा आपूर्ति हुने नियोनको आपूर्तिमा ७० प्रतिशतको हिस्सा राख्छ । यदि लडाइँ अझै बढ्यो भने विश्वभरिमा चिपको अभाव हुन सक्छ ।’ २०१४–१५ मा पनि जब क्राइमियाको विषयलाई लिएर युक्रेनमा लडाइँ भइरहेको थियो, नियोनको मूूल्यमा कयौं गुुणा वृद्धि भएको थियो । यसबाट पनि सेमिकन्डक्टर उद्योगका लागि युद्धबाट हुने संकट कत्तिको गम्भीर छ भन्ने बुझ्न सकिन्छ ।

Previous articleहोमस्टे महासंघ गण्डकीको अध्यक्षमा धनीराम गुरौ
Next articleजसपा सांसद यादवमाथिको कारबाही फिर्ता

Leave a Reply