महोत्तरी १२ माघ | महोत्तरी बर्दिबासका गणेश सुवेदी अघिल्लो चुनावको समयमा साउदी अरबको तातो घाममा मजदुरी गर्दै थिए । स्थानीय चुनावताका उम्मेदवार बनेकाहरूले घोषणापत्रमा लिपिबद्ध गरेका प्रतिबद्धताहरू सुवेदीको आँखामा अहिले पनि झल्झली याद आइरहन्छ ।
‘घर–घरमा सिंहदरवार बनेपछि सुविधाहरू त पाइयो, तर जनप्रतिनिधि जनमुखि बन्न नसक्दा दुःख पाइयो,’ उनी भन्छन् ।जिल्लामा १५ वटा पालिकामध्ये कतिपय पालिकाका सरकारले शक्ति प्रदर्शन गर्दैमा आफ्नो कार्यकाल सकाउने अवस्थामा छन् । कतिपय पालिकाका सरकारलाई कोरोना माहामारी नै काम गर्न नसक्नुको मुख्य हतियार बन्यो ।
युवा पहलायनलाई रोक्न विकाशका आधारहरू तयार गरी कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने टड्कारो आवश्यकता देखिँदादेखिँदै सरकारभित्रका जनप्रतिनिधिहरूको झगडाले कतिपय पालिकाका उपलब्धीहरू नै कमजोर बने ।
संघीयता स्थपना भएपछिको पहिलो निर्वाचनमा फ्याँकिएका घोषणापत्रहरूले अहिले स्थानीय सरकारलाई जिस्क्याइरहेको देखिन्छ । युवा पहलायनलाई रोक्न स्वरोजगारका कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पूरा हुन नसक्दा महोत्तरीमा अहिले पनि सबैभन्दा बढी वैदेशिक रोजगारको खोजीमा युवा भौँतारिरहेका छन ।
महोत्तरी इन्सेकको एक तथ्यांकअनुसार विगत पाँच वर्षको कार्यकालमा कार्यकालको पहिलो वर्ष बैदेशिक रोजगारमा कमि आए पनि त्यसपछि भने वृद्धि भएको छ । वैदेशिक रोजगारको खोजीमा खाडी मुलुक जाने मात्र १० प्रतिशतले वृद्धि भएको देखिएको छ ।
महोत्तरीका १५ वटै पालिकामा जनप्रतिनिधिहरूबीचको आ–आफ्नै अडानले विकाशका कार्यहरू ओझेलमा परेको स्थानीयहरू बताउँछन । बजेट बाँडफाँटमा मूख्य भुमिका पालिका प्रमुखको हुने हुँदा विकाससमेत सन्तुलित ढंगवाट नभएको स्थानीयहरूको गुनासो छ ।
गणेश सुवेदी जस्तै स्थानीय सरकारका योजना सुनिसकेपछि हौसिएर गौशालाका राम महतो वैदेशिक रोजगारलाई बिट मारेर स्वदेश फर्किए । स्वदेश आएर कुखुरापालन व्यवसाय गरेका उनलाई नोक्सान यति सहनुप¥यो कि उनले परदेशमा कमाएको पैसा सबै सकियो ।
‘कमसेकम बजार र प्राविधिक सहयोग गरे पनि सफल बन्न सकिन्थ्यो,’ उनले, ‘सरकारप्रतिको भरोसा र बजार नहुँदा उल्टै विदेश आएर अहिले नोक्सानको पैसा तलबवाट व्यहोर्दै छु ।’स्थानीय सरकारले सबैभन्दा बढी कृषिमा बजेट छुट्याइएका छन् । तर, अनुदान तथा सहयोग किसानसम्म नपुग्दा कृषि व्यवसाय नै धरासयी बनेको छ ।
शक्ति र पहुँचको भरमा कृषिको बजेट दुरुपयोग भएको स्थानीयको आरोप छ । जिल्लामा करिब दुई हजार ४०० भन्दा बढी व्यवसायिक कुखुरापालक, बाख्रापालक र आधुनिक तरकारी खेती गर्ने किसान छन । तर, उनीहरूको लगानी र मिहेनत भने सबै बालुवामा पानी खनाए जस्तै भएको उनीहरू गुनासो गर्छन् ।
‘दुःख गरेर तरकारी उत्पादन गर्यो सबै खेतमा नै कुहिन्छ,’ ईश्वर बस्नेत सुनाउँछन, ‘अघिल्लो वर्ष खेतमा बन्दा लगाएँ, तर बजारको अभावले सबै काटेर भैसीलाई खुवाउनुपर्यो ।’ किसानहरूले उत्पादन गरेका कृषि उपजहरूको भण्डारणदेखि बजारको सुनिश्चितताको लागि बर्दिबासको मसानघट्टको ८२ बिघा क्षेत्रफल विशाल कार्यायोजना कार्यान्वयनको चरणमा रहे पनि तत्काल बजारको पहुँच नहुँदा किसान समस्यामा छन् ।