हराउन थाले रैथाने माछाका प्रजाती

474

कञ्चनपुर, ४ फागुन । लालझाडी गाउँपालिका-४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा माछा मार्ने कार्य धेरै वर्षदेखि गर्दै आएका छन्।

नदीमा पहिलेको जस्तो माछा जालमा पर्ने गरेका छैनन्। दिनभरी नदीमा जाल खेलाउँदा थोरै मात्रै माछा जालमा पर्ने गरेका छन्। नदीमा थोरै प्रजातीका माछा मात्रै रहेको उनले बताए। ‘विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच छ किलो माछा मार्न सकिन्थ्यो,’ उनले भने, ‘हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरी जाल खेलाए चार पाँच वटा स–साना माछा मात्रै जालमा पर्ने गरेका छन्।’

शुक्लाफाँटा नगरपालिका–७ का ८० वर्षीय आशाराम चौधरीले पहिलेको जस्तो अहिले माछा नदी तलाउमा नपाइने गरेको बताए। ‘पहिलेको जस्तो वर्षा हुनै छाड्यो, त्यसै कारणले नदीमा पानीको बहाव पहिलेको जस्तो छैन, नदीमा पानी कम भएपछि माछा हुने कुरै भएन’, उनले भने, ‘गर्मीका बेला त नदी तलाउ सुक्नसमेत थालेका छन्, यसैकारणले पनि नदी तलाउमा पहिला जस्तो माछा पाइँदैन।’

वर्षातमा धानका खेतमै थुप्रै माछा पाइने गरेका थिए। खेतकै आलीमा परम्परागत रुपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगातका माछा पक्रने गरिन्थ्यो। हाल खेतबारीमा रासायनिक मलसँगै विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाती हराउँदै गएका छन्। “खेतमा बालीलाई रोगकीराको प्रकोपबाट जोगाउन छर्किने विषादी खेत हुँदै नदी, तलाउमा पुग्ने गरेको छ”, लालझाडीका वासुदेव रानाले भने, “नदी तलाउमा माछा मार्नका लागि विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाती लोप हुन थालेका छन्, केही लोप भइसकेका छन्।”

वर्षातको समय सकिएपछि दोदा नदीमा कात्तिकदेखि जेठसम्म घिमरी राखेर माछा मारेको उनले अहिले पनि सम्झिनुहुन्छ। ‘गाउँका मन मिल्ने साथीहरुले सामूहिक रुपमा नदीमा बाँध बनाइ धिमरी राख्थ्यौँं”, उनले भने, ‘धिमरीमा फसेका माछा बिहानी पख भाग लगाउथ्यौंँ, एउटैको भागमा पाँच किलोदेखि सात किलोसम्म माछा पर्दथ्यो, खान सकेको माछा खान्थ्यौँं, खान नसकिएको माछाको सुकुटी बनाएर वर्षात्का बेला तरकारीका रुपमा खान्थ्यौँ।’

उनका अनुसार नदीमा धिमरी लगाउँदा माछा चोरी हुनबाट जोगाउन रातिका बेला पहरा दिइने गरिन्थ्यो। पहिला जस्तै केहीले अहिले पनि नदीमा धिमरी लगाउने गरे पनि माछा पहिला जस्तो पर्दैन। दुई÷तीन दिनमा धिमरी खोल्दा मुस्किलले एकदेखि दुई किलोसम्म माछा मात्रै पर्ने गरेको छ। जलवायु परिवर्तन र विषादीको जथाभावी प्रयोगले रैथाने माछाका प्रजाती लोप हुँदै गएको उनको बुझाइ छ।

चुरे क्षेत्रको जथाभावी रुपमा नदीजन्य पदार्थको दोहन हुँदा नदीको गहिराइमा केही वर्षदेखि कमी हुँदा माछाका प्रजाती घटदै गएको शुक्लाफाँटा-१२ का वडाध्यक्ष नवलसिंह रानाको भनाइ छ। ‘बालुवाले नदीको गहिराइ दुई फिटभन्दा कम भएको छ’, उनले भने, ‘नदीको सतह पुरिँदै गएपछि माछाको बासस्थान मासिँदै गयो, माछा लोप हुन थालेका छन्।’

उनका अनुसार पहिला नदी तलाउमा रैथाने जातका लछिया, वैखा, रहु, नैन, चन्दविजला, टेङगर, कटा, गोेछो, गुनगुना, नङ्गवा, रबा, भगना, डेडवा, चुहिला, कुर्सा, सिंगी, भुरिया, महासेरा, कटुवा, मुग्रो, मलाइच, बजेट्टा, खजुरा, गेट, चरैया, भकुरा, ढोर्र, सुमरा, खर्सा, झिंँगा, बगस, गइट्टा, गैंँडो, मलगी, पत्थरचट्टी, भेदल, गोंजा, फिलोसिंया, पड्नीलगायत जातका माछा पाइने गरेका थिए।

रैथाने प्रजातीका आधा प्रजाती पनि नदी तलाउमा हाल नपाइने गरेको उनले बताए। ‘नदी पुरिएर पानीको बहाव घट्यो, नदीमा पानी जम्मा हुने कुण्ड, तलाउ नासिए, प्राकृतिक तालमा मानव अतिक्रमणले नासिँदै गए, नदी तलाउमा विषादीको प्रयोग बढन थालेपछि माछाका प्रजाती हराउँदै गए’, उनी भन्छन्। रैथाने माछाका प्रजाती जोगाउनका लागि विगतदेखिनै प्रयास भएको स्थानीय कालुराम चौधरीले बताए। उनले भने, ‘केही वर्ष नदी तलाउ लगायतमा विषादी हाल्न निषेध गरिएपछि माछा संरक्षणमा टेवा पुगेको थियो, अटेरी व्यक्तिले लुकिछिपी नदी तलाउमा विषादी हाल्न थालेपछि रैथाने जातका माछा दुर्लभ हुन थालेको छ।’

पहिला जस्तै जाल हान्ने, घिमरी राख्ने, टापी, हेल्का नदी तलाउमा थापेर माछा मार्ने गरिन्थ्यो। हाल पनि माछा मार्न त्यसकै प्रयोगलाई बढावा दिनुपर्ने उनी बताउछन्। ‘रैथाने जातका माछका प्रजाती जोगाउन स्थानीय तहले संरक्षणसम्बन्धी कार्यक्रम ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘यसबारे युवा पिँढीलाई सचेत गर्न जरुरी छ। रासस

Leave a Reply