के विदेशमा रहेका सबैले आरक्षित सेयरमा आवेदन दिन नपाउने

266

काठमाडौँ , १३ मंसिर | बुधबार बाट कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि सेयर जारी गर्न लागेको छ। मंसिर २० गतेदेखि सेयर जारी गर्ने तयारीमा रहेको सुपर मादी हाइड्रोपावरले पनि वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गर्ने भएको छ।

वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्राथमिक निष्कासनको क्रममा १० प्रतिशत सेयर छट्याउनै पर्ने गरेर आरक्षित गरिएको छ। यो खबरसँगै विदेशमा रहेका विद्यार्थीदेखि धेरैले बैंकहरूमा चासो देखाइ रहेका छन्। ‘अझै कतिपयलाई कस्ताले यस्तो सेयर हाल्न पाउँछन भनेर दुविधा रहेको देखियो,’ एक बैंकरले भने, ‘यसलाई स्पष्ट पार्न आवश्यक देखिएको छ।’

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर विदेशमा बसेर रोजगार रहेकाहरूलाई मात्रै यसरी आरक्षित गरेर सेयर जारी गर्न लागिएको हो। त्यसैले विद्यार्थी भिषामा जानेहरूले यस्तो सेयरमा आवेदन दिन पाउँदैनन्। वैदेशिक रोजगारीमा रहेपनि पछिल्लो छ महिनामा यहाँ खोलिएको खातामा कम्तीमा ५० हजार नेपाली रूपैयाँ पठाएको हुनुपर्नेछ।

श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेकाहरूले बैंकहरूमा अनलाइनबाटै रेमिट बचत खाता खोल्न सक्छन्। हाल विभिन्न बैंकहरूले यस्तो सुविधा दिएका छन्। यसरी खाता खोलेपछि सेयरमा आवेदन दिन आवश्यक हुने सिआरएन नम्बर समेत प्रदान गर्दन्।

त्यस्तै, यस्तो खाता खोलेसँगै लगानी गर्नेले सेयर कारोबारको लागि डिम्याट खाता समेत खोलेको हुनुपर्दछ। बैंकहरूले पनि डिम्याट खाता समेत खोलिदिन सक्छन्। गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न एक सय ४८ मुलुकमा श्रम स्वीकृति लिएर ६ लाख ३० हजार ९० वैदेशिक रोजगारीमा रहेका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार मध्यान्नसम्म ८५ जनाले सेयरमा आवेदन दिन सकिने गरी रेमिट खाता खोलेर सिआरएन नम्बर लिइसकेका छन्।

Leave a Reply