काठमाडौँ, २८ भदौ |आर्यन सिग्देल अभिनित “सायरा” चलचित्र भारतमा पनि प्रदर्सन हुने भएको छ | होटल र्याडिसनमा एक कार्यक्रमका बीच भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘सायरा’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएको छ ।
फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारहरुको अभिनय रहनेछ । प्रमुख भूमिकामा नेपालबाट आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपाली रहेको छ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । सुफिया कार्यक्रममा उपस्थित नभए पनि फिल्मको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएकी थिइन् ।
डिविआर मिडिया एन्ड मुभी प्रालीको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले फिल्म निर्माणमा सहकार्य गरेको छ । निर्माता रघु परियार प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्मातामा काजीमान अत्रेय छन् भने भारतबाट निर्मातामा पुष्कर झा छन् । फिल्मको कथा प्रस्तुतकर्ता परियार स्वयंको रहेको छ । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म बनाउन लागेको बताए ।
भारतीय निर्माता पुष्कर झाले ‘सायरा’ नेपाली भाषामा निर्माण हुने तर हिन्दी डब गरेर भारतमा पनि प्रदर्शन गरिने जानकारी दिए ।‘सायरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कविताले भने फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् । दशैंपछि छायांकन सुरु हुने फिल्मको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी गराइयो ।