नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार आज बाट रोक्का भएको छ । यी दुई बैंकले एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेसँगै सोमबारदेखि कारोबार रोक्का भएको हो ।
संयुक्त रुपमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले कारोबार रोक्का गर्न यहि जेठ २७ गते नेप्सेलाई पत्र लेख्दै दुई बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए । सोही पत्रमा बैंकहरुले मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारीसमेत गराउन नेप्सेलाई आग्रह गरेका छन् ।
छिट्टै एकीकृत कारोबारमा जाने सहमति गरेका बैंकहरुले १००ः ९० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन् । मर्जरपछि कुल ३२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंक बन्ने पक्का भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगाको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।