आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दान दिने रुसी नोबेल विजेताको घोषणा

324

एजेन्सी
किभ, ९ चैत

रुसका नोवेल शान्ति पुरस्कार विजेता दिमित्रि मुरेतोभले आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई रकम जुटाउन दान गर्ने घोषणा गरेका छन् । रुसको नोभाय गजेटा पत्रिकाका प्रधानसम्पादकसमेत रहेको मुरातोभले रुसी हमलापछि १ करोड युक्रेनी आफ्ना घरबाट विस्थापित भएको अवस्थामा सो सहयोग गर्ने निर्णयमा पुगेको बताएका छन् ।

उनी रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रखर आलोचकका रुपमा चिनिन्छन् ।

त्यसो त आफूले पाएको विश्व चर्चित पुरस्कार लिलामीमा राख्न उनले गत वर्ष नै आह्वान गरेका थिए । ‘यो विश्व–प्रसिद्ध पुरस्कार लिलामीमा राख्न र लिलामी घरहरूलाई जबाफ दिन म अनुरोध गर्छु’, गत वर्ष उनले भनेका थिए ।

रुसी हमलाका कारण दिनहुँ युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिनेको संख्या बढ्दो छ । अहिलेसम्म ३० लाख युक्रेनीले देश छोडेर विभिन्न देशमा शरण लिएका छन् ।

त्यस्तै, युद्धकै कारण घर छाड्ने युक्रेनीको संख्या झनै डरलाग्दो छ । राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धका कारण १ करोड युक्रेनीले घर छाडेका छन् ।

Leave a Reply