https://saajhaonline.com/2022/03/15/26435/

718

काठमाडौं, १ चैत

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुुझाव दिएकी हुन् ।

कांग्रेसले पुरानै नारालाई दोहो¥याएरभन्दा पनि स्थानीय तह र जनताको आवश्यकता हेरेर विकास निर्माणमा सहयोग गर्न सके मात्र जनताको मन जित्न सक्ने उनको तर्क छ । महाधिवेशनपछिको कांग्रेस, चुनावी गठबन्धन, पार्टीभित्र महिलाको अर्थपूर्ण सहभागीता, गुटगत समस्या, भ्रातृ संस्थाको अधिवेशन लगायत विषयमा केन्द्रित भएर न्युज कारखानाकर्मी ईश्वरी बरालले नेतृ सुजाता कोइरालासँग गरेको कुराकानी :

आगामी चुनावमा कांग्रेस एक्लै लड्छ या गठबन्धनसहित ?

कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धनसहित भन्ने विषयमा व्यापक छलफल गर्नुपर्छ । मैले अलिक अघिको राजनीतिक परिस्थिति हेर्दा सत्ता गठबन्धन मिलेर चुनावमा जानुपर्छ भनेको थिएँ । तर, कस्तो परिस्थिति हुन्छ त्यो बुझेर मात्र चुनावमा जानुपर्छ । कांग्रेसले पनि आफुलाई के गर्दा फाइदा हुन्छ, त्यो हेर्नुपर्छ । अरुको लागि भन्दा पनि कांग्रेस र देशको लागि हित हुने गरी चुनावी तालमेल गरेर जानुपर्छ । कांग्रेसलाई अझै व्यवस्थित र ठूलो पार्टी बनाउने गरी सोच्नुपर्छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एउटा सानो समूहसँग मात्र छलफल गरेरभन्दा पनि व्यापक छलफल गरेर निर्णय लिनुपर्छ । गठबन्धन मिलेरै जाने हो भने पनि चुनावको समयमा आफू जित्ने स्थानमा कांग्रेसले छोड्नु हँुदैन । अरुलाई जिताउन भनेर कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नु हुँदैन । अघिल्लो चुनावमा चितवन लगायत केही स्थानमा कांग्रेसले उम्मेद्वारी नदिएर गल्ती भएको थियो । अब त्यस्तो गल्ती दोहोरिनु हुँदैन । कांग्रेस ठूलो दल भएकोले एक्लै चुनाव लड्न फाइदा हुन सक्छ । तर, पार्टीभित्र बृहत छलफल गरेर मात्र निर्णय लिनुपर्छ । हाम्रो आफ्नै बलियो संगठन छ ।

पार्टीले चलाएको चुनावी प्रचार अभियानको सुरुवाती प्रभाव कस्तो पाउनुभएको छ ?

चुनावी अभियानको प्रभावकारिता व्यापक छ । तर, हामीले परिर्वतनशील एजेन्डा बोकेर जनताको घर घरमा पुग्न सक्नुपर्छ । सधैँ इतिहासको मात्रै कुरा गर्नुभन्दा पनि समयअनुसार विकास निर्माण सहितका नारा र एजेन्डा बनाउनुपर्छ । जुन जिल्लामा जुन कुराको खाँचो र अभाव छ, त्यो पूरा गरिदिनुपर्छ । पार्टी प्रतिनिधि बनेर जिल्लामा पुगेका नेताले अध्ययन अनुसन्धान गरेर विकास निर्माणमा लाग्नुपर्छ । त्यहाँका जिल्ला सभापति, पार्टीका नेता कार्यकर्तालाई सोधेर समस्या समाधानमा केन्द्रित हुनुपर्छ । सबै समस्याहरू बुझेर समाधान गर्नुपर्‍यो कांग्रेसले । सबै जिल्लाका मुख्य समस्या र कांग्रेस कमजोर हुनुको जरो पत्ता लगाएर सम्बोधन गर्नुपर्छ, पछि जितेर आएपछि एजेन्डा बिर्सिने होइन । संगठनमा काम गर्नुपर्‍यो । ठूलो र विश्व राजनीतिको कुरा हुन्छ । तर, जनताको काम हुँदैन । यो नै अहिलेको मुख्य समस्या हो । स्थानीय तहको समस्या समाधान नभएसम्म पार्टीले बहुमत ल्याउँछ भन्ने छैन । काममा सिरियस भएर फोकस गर्नुपर्छ । राजनीति गर्नेले जनताको समस्यादेखि भाग्न मिल्दैन ।

पहिलो महिला मन्त्री बनाएको पार्टी कांग्रेसमा अहिलेसम्म आइपुग्दासमेत कोटा र आरक्षणबाट मात्र नेतृले स्थान पाउनुपर्ने विडम्बना किन ?

महिलालाई अगाडि बढाउँदैनन् । महिला भनेर आउन दिनुभएको छैन की अन्य कारण हुन्, त्यो मलाई थाहा हुन सकेको छैन । म मुलुकको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री भइसक्दासमेत कसैको सहयोग पाउन सकेको छैन । अरु पदमै नपुगेका महिलाको अवस्था कमजोर छ । तर्सथ अझै महिलाको लागि कोटा, आरक्षण बढाउनु जरुरी छ । पार्टीमा महिला पनि उपसभापति, महामन्त्री लगायत अन्य पदाधिकारी हुन सक्थे, त्यो भएन ।

१४ औँ महाधिवेशनपछिको नयाँ नेतृत्वले पार्टीलाई कत्तिको चलायमान बनाउन सकेको छ ?

केही काम भएका छन् । केहीमा अलमल देख्छु । कोरोना कहरमा जनतालाई खोप दिने काम निकै राम्रो भयो । पार्टीका भ्रातृ संगठनहरू व्यवस्थित बनाउने काम भइरहेका छन् । केहीको अधिवेशन हुँदै छन् । तर, यतिले पुग्दैन, जनताको बीचमा पुग्नुप¥यो नेताहरू । आफ्नो जिल्ला र क्षेत्रमा पुगेर कार्यकर्ताको काम गर्नुपर्छ । अब बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा म यी विषयहरू उठाउँछु । पार्टीको पिल्लरको रुपमा रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्नुपर्छ । नेतृत्व दिएर चलायमान बनाउनुपर्छ । भातृ संगठन सक्रिय भएको खण्डमा मात्र पार्टी सक्रिय हुन्छ ।

आफ्नो पार्टीभित्रका कमजोरी के के हुन् जस्तो लाग्छ ?

संगठन जति बलियो हुनुपर्ने त्यो हुन सकेको छैन । नेपाली कांग्रेसले अब नयाँ विचार दिनुपर्छ । समयअनुसार परिर्वतन हुनुपर्छ । सही मान्छेलाई टिकट दिनुपर्छ । पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्छ । आफुले टिकट नपाए पनि कांग्रेसको प्रतिनिधिलाई सहयोग गर्नुपर्छ । यसबारे पार्टीभित्र प्रशिक्षण चलाउनुपर्छ । नेतृत्व तहमा बसेका नेताले गुट अन्त्य गर्न भूमिका खेल्नुपर्छ ।

Previous articleकिन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?
Next articleहोलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने, उछृङ्खल गतिविधि गर्नेलाई मुद्दा चलाइने

Leave a Reply