काठमाडौं, १९ मंसिर | सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ । आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने जनाएको छ ।
प्रतियोगितामा ३४ प्रोफेस्नल र १२ एमेचर गरी ४६ गल्फर सहभागी हुने एसाेसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । दुई होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले एक लाख १० हजार र तेस्रोले ७४ हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले ६० हजार प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । २१ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार पाउने छन् ।
आयोजकले ६ खेलाडीलाई प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरेको छ । जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर, र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन् ।
आयोजकले यसबर्ष आठ प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।