१५ महिनापछि नेकपा एमाले पार्टीको नेतृत्वमा सरकार बन्छ:ओली

322

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागिपरेको आरोप लगाउनुभयो । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्तिसमेत जनाउनुभयो ।

अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र नागरिककाे हितमा काम गर्ने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सम्भवतः १५ महिनापछि चुनाव हुन्छ, एमालेको सरकार आउँछ र त्यसले मात्रै यो काम गर्छ । म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु । अहिलेको सरकारले सुनोस्, वैशाखभित्र काठमाण्डाैमा पानी झारेर देखाओस्, ऊ आफैँले नापेर–जोखेर भनेको कुरा उसले देखाओस्, वैशाखसम्ममा काठमाण्डाैमा पानी झारेर देखाओस्, ईख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस् । नेपालको आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन्, हो कि होइन भन्न सक्दैनन् । हो भने हो भने हुन्थ्यो । होइन भने होइन भने हुन्थ्यो नि ! हो कि होइन अहिलेसम्म पनि चुप छ । तुइन काटेर झराएर मारिन्छ एउटा नेपाली । नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ, त्यसले भन्छ– यस्तो दुर्घटना भएकै हो । त्यो रिर्पोट लुकाउन खोज्छ । दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरूसँग भन्ने आँट त गर्दैन । आफ्नो देशको नागरिकका लागि, आफ्नो देशको हक अधिकारका लागि, आफूले न्याय पाउनका लागि बोल्न सक्दैन भने कस्तो सरकार हो ? अरूलाई अरूको धन्दा यो सरकारलाई खानाको धन्दा । यसकाे ध्यान अन्त छैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरू सबै विरोधी भएको बताउनुभयो । उहाँले विरोधीले गालामा थप्पड हान्दा पनि शास्त्र पल्टाउने काम नगर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब हामी आउँदा दिनमा धेरै अलमलिनु हुँदैन । कहिले–कहिले सिद्धान्त र व्यवहारमा हामी अलमलिन्छौँ । विरोधी थप्पड हानिसक्छ गालामा अनि हामी शास्त्र पल्टाउन थाल्छौँ । शास्त्रले के भन्छ ? यो गालामा हान्ने विरोधी हो कि होइन ? यो गालामा हान्नेलाई शास्त्रमा विरोधी मान्छ कि मान्दैन ? शास्त्र पल्टाउन थाल्छौँ । यति सारो शास्त्रवादी हुनुपर्ने जरुरी छैन । जो तपाईँसँग लडिराखेको छ, त्यो विरोधी हो । जो तपाईँसँग लडेको छैन, सँगै काम गरिराखेको छ, त्यो मित्र हो । अलमलिएर गएका साथीहरूलाई, भ्रममा परेका साथीहरूलाई फर्काउनका लागि प्रयास गर्न म साथीहरूलाई आग्रह पनि गर्दछु ।’

अध्यक्ष ओलीले एमालेभित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरूले देवत्वकरणको हल्ला फिजाइरहेको दाबीसमेत गर्नुभयो । उहाँले आफूहरू कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरिपरि पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको दाबीसमेत भयो । अध्यक्ष ओलीले विरोधीहरू आफू बाँचेको र कार्यकर्ता र नागरिकले माया गरेकोमा चिन्तित भएको पनि बताउनुभयो ।

Leave a Reply