दुर्गा प्रसाईं पनि केपी ओलीतिर

585

१० वर्षे सशस्त्र युद्धकै बेलादेखि प्रसाईं माओवादीमा सक्रिय थिए। सर्वोच्च अदालतले नेकपालाई पुरानो अवस्थामा फर्काइदिएपछि प्रसाईं प्रचण्डलाई छोडेर ओलीतिर लागेका हुन्।बिएन्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं सर्वोच्चले पार्टीलाई पुरानो अवस्थामा फर्काएकै बखतदेखि ओलीसँग नजिक हुँदै आएका थिए।

प्रसाईं अहिले एमालेको विधान महाधिवेशनमा झापाबाट प्रतिनिधि छन्। तीन दिनसम्म चल्ने उक्त महाधिवेशनमा उनी ‘चर्चा’को केन्द्रमा छन्।माओवादी र प्रचण्डलाई सहयोग गर्ने क्रममा आफू जेलसम्म परेको भन्दै प्रसाईं अहिले उनीसँग दु:खेसो पोख्ने गरेका छन्।कुनै बेला प्रसाईंसँग जोडेर प्रचण्डको आलोचना पनि हुने गरेको थियो।

‘म माओवादी पार्टीकै लागि जेलसम्म बसेको हुँ। प्रचण्ड र केपी शर्मा ओलीलाई वार्ता गराएर नेकपा एकीकरण गराउन भूमिका खेलेको हुँ,’ प्रसाईंले भने, ‘प्रचण्ड जनयुद्ध नलडेका नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलहरूको घेराबाहिर निस्किन सक्नुभएन।’

माओवादी छोड्दा आफूलाई दु:ख पनि लागेको प्रसाईंले बताए। ‘तर प्रचण्ड सुध्रिनुपर्छ। माधव नेपाल र नारायणकाजीहरूको संगत छोड्नुपर्छ,’ उनले भने।प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास थालिएको थियो।एमाले र माओवादी मिलेर नेकपा बनेपछि तत्कालीन प्रधानमन्त्री ओलीले बिएण्डसीलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउन खोजेका थिए।

तर, नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलको ‘भूमिका’का कारण चिकित्सा शिक्षा आयोगले सम्बन्धन अगाडि बढ्न नदिएको बुझाइ उनको छ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी नारायणकाजी र गिरिराजमणि पोखरेल निकट मानिन्छन्।पछिल्लो पटक पनि ओलीले सम्बन्धनको प्रक्रिया अगाडि बढाउँदा गिरीले सहयोग नगरेको प्रसाईंले बताए। त्यसपछि उनले प्रचण्डसँग भेटेर पनि कुराकानी गरेको तर उनले सुनुवाइ नगरेको बुझाइ उनको छ।तर, प्रसाईंले प्रचण्डसँग असहमति राख्नुमा सम्बन्धनको कुरा मात्रै नभएको भन्दै धेरै कुरा विस्तारै बाहिर आउँदै जाने बताए।

‘मैले मैले हरेक कदममा प्रचण्डलाई साथ दिएको थिएँ। मैले सम्झाउँदा पनि नसम्झेपछि त्यो पार्टीले देश निर्माणमा कुनै सहयोग गर्छ भन्ने लागेन,’ प्रसाईंको भनाइ छ।एमालेमा आउँदा कुनै स्वार्थ नराखेको दाबी उनको छ। प्रसाईं यसअघि खुलेर एमाले पार्टीमा देखिएका भने थिएनन्।

 

Leave a Reply