यसरी गरिएको थियो संखुवासभाको सामुहिक हत्याकाण्ड

470

भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रहरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा मदिरा पिउने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ । त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको पाइएको छ ।

हत्यामा पाँच जनाको संलग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए ।

Leave a Reply