संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले आइतबार संखुवासभामा सार्वजनिक गरेका आरोपित लोकबहादुर कार्की तिनै व्यक्ति हुन्, जसले ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै गाउँलेलाई खबर गरेका थिए ।
घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । साँझबाट गाउँमा प्रहरी र पत्रकारको भिड लाग्न लाग्यो, लोकबहादुरले घटना गम्भिर भएको भन्दै अन्तरवार्ता दिए । कतिपय युट्युबरलाई आफ्नै घरमा बास पनि दिए ।
घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।
कक्षा ९ सम्म पढेर लोकबहादुर वैदेशिक रोजगारीमा गएका थिए, तर राम्रो कमाइ भएन । मलेसियामा साढे ५ महिना र कतारमा दुई पटक ३ र ७ महिना बस्दा ऋण मात्रै थपियो । फर्किँदा माथिल्लो गाउँकी प्रेमिकाले पनि अर्कैसँग विवाह गरेको थाहा पाएपछि उनी डिप्रेसनमा परे ।
उनले तीन वर्षदेखि औषधि सेवन गर्दै आएको पाइएको छ । मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन् । हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् ।
तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । भदौ २१ मा विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बयानका क्रममा उनले तेजबहादुरसँग रिस उठ्नुको अरु कारण पनि खुलाए ।
बयान अनुसार एक वर्षअघि उनकी आमा, तेजबहादुरको घरमा लडेकी थिइन् । गम्भीर घाइते उनलाई झापाको अस्पताल लगियो, तर चिकित्सकहरुले मृत घोषित गरे । आमाको मृत्यु हुनुमा उनले षड्यन्त्र हुनसक्ने आशंका गरे ।