अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एमालेभित्रका तेस्रो धारका केही नेताहरू ‘बिलखबन्द’मा पर्ने निश्चित भएको छ ।
सहमति भएको एक महिना नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हटेका छन् ।
अध्यक्ष ओलीले पार्टीभित्रको तेस्रो धारलाई जति पेल्दै जान्छन्, त्यति नै माधव नेपालले खोलेको एकीकृत समाजवादी पार्टीको औचित्य पुष्टि हुने विश्लेषण एमालेभित्रैका तेस्रो धारका नेताहरूले गर्न थालेका छन् ।
एमालेमा तेस्रो धार भन्नाले माधव नेपाल समूहलाई छाडेर ओलीको पक्षमा आएका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतलाई चिनिन्छ ।
तेस्रो धारका एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी जेठ २ लाई कार्यान्वयन गर्न इमान्दार हुनुभयो भने माधव नेपालले नयाँ पार्टी गठन गर्नुको औचित्य समाप्त हुन्छ । तर, ओलीजी पहिलेकै तरिकाले अघि बढ्नुभयो भने माधव नेपालको पार्टीलाई फाइदा पुग्छ र हामी तेस्रो धारका भनिएकाहरूको परीक्षा सुरु हुन्छ ।खासगरी सुदूरपश्चिम प्रदेशको सवालमा १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्न अध्यक्ष ओली तयार नभएपछि विगतमा जस्तै सहमति गर्ने तर कार्यान्वयन नगर्ने पुरानै शैलीलाई निरन्तरता दिन पुगेको एमालेभित्र टिप्पणी हुन थालेको छ ।
Related