गुट र गिरोहलाई समाप्त पार्नुपर्छ: शेखर कोइराला

648

वडा अधिवेशन सुरू हुनुअगाडि आज अपिल जारी गर्दै कोइरालाले भने, ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्तएक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ। पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन। उत्सवको रुपमा आएको १४ औं महाधिवेशनलाई हामी गुट र गिरोह समाप्त गर्न सफलिभूत हुनुपर्नेछ।’

महाधिवेशनले लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको पनि उनले बताएका छन्।

महाधिवेशनसँगै कांग्रेसले नयाँ विचार, नेतृत्व र सांगठनिक ढाँचा निर्माण गर्नुपरेको उनले बताए।

‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ। यसले पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ,’ उनले भने, ‘पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्छ। स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्नेछ।’

विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको पनि उनले उल्लेख गरेका छन्।

‘कांग्रेसको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको छ। पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन। यस कार्यमा खटिएका सवैलाई सहयोग गर्नुपर्ने दायित्व पनि हामी सबै कांग्रेस कार्यकर्ताहरुको हो,’ उनले भनेका छन्, ‘अबको झण्डै सय दिन मुलुकको राजनीति कांग्रेसको महाधिवेशनतर्फ सोझिनेछ। अन्तर्राष्ट्रिय रुपमा पनि हाम्रा मित्र राष्ट्रहरुले हामीतर्फ हेर्नेछन्।’

Leave a Reply