अलविदा जनबादी गायक जेबी टुहुरे

686

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा ​बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष हुन् ।

जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।

आफ्ना गीत संगीतमा जनताका समस्या, दुःख, पीडा, पिरमर्कालाई विषयवस्तु बनाउने टुहुरेका गीतमा वर्गीय प्रेम, राष्ट्रप्रेम र विद्रोह पनि उत्तिकै झल्कन्छन् । सरल मिजासका टुहुरेको जीवन सरल किसिमले, दुःख र अभावमै बित्यो । मूलतः उनले आफ्नो पसिनाले सिञ्चित गरेको पार्टी एमालेमा टुहुरो महसुस गरे र नेकपा माओवादी रोजे ।

धरानको पुरानो बजारमा बि.सं २००१ कात्तिक १५ गते  जन्मिएका उनी कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जेठा छोरा हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले २०२१ सालमा बुबाको निधनपछि आफू टुहरो भएको भन्दै सांकेतिक रुपमा आफ्नो नामको पछाडि ‘टुहुरे’ लेख्न थालेका थिए ।

सानैदेखि गीत गाउने, नाच्ने टुहुरेको विसं २०१० बाट औपचारिक सांगीतिक यात्रा सुरु भएको हो । सुरुमा उनी सबैखालका गीत गाउँथे । विसं २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक रहेपछि उनले विद्रोह र जनताका गीत बनाउन थाले  ।

जनताको पक्षमा करिब ५ दशक गीत गाएका टुहुरे आफूलाई राजनीतिज्ञ भन्दा पनि जनवादी गायक तथा कलाकारकै रुपमा चिनाउँथे । ‘चरी भरर’, ‘आमा दिदीबैनी हो’ उनका २०३३ सालतिरका गीत हुन् । जुन गीत उनले पछिल्लो समय पनि कार्यक्रमहरुमा निरन्तर गाउँदै आएका थिए ।

 

Leave a Reply