तिमी बसाइँ सरेपछि

:::::::::तिमी बसाइँ सरेपछि:::::::::::

तिमी यहीँ हुँदा त
नाफिनीका काडाँहरुको पनि काम आउथ्यो
किनकि भाउजुहरु कान छेड्न आउनुहुन्थ्यो
नन्दहरु नाक छेड्न आउथे
तर तिमी बसाइँ सरेपछि त
बगैंचाका मौरीहरु पनि बसाइँ सरे
फुलहरुपनि ओइलिएर मरे ।

तिमी बसाइँ सरेपछि त
हाम्रा वडा अध्यक्षहरुले
तिम्रो गाउँ जाने बाटोमा
सडक पुन्रनिर्माणका बजेटहरु कटौती गर्नथाले
फलस्वरुप : तिमी मलाई भेट्न आउने बाटो
मेरो मुटु जस्तै कटकटिएर खियाँ लागे जस्तो भएको छ ।

तिम्रो जुठेल्नो नजिकै उम्रने
त्यि दुधालु सालिम्बो पनि
तिमीले घर छाडेपछि त
सुकेर कामै नलाग्ने बुढो खरुकी जस्तै भएछ ।

हाम्रा गाउँका नाइटे खोलामा
भएका डुम्रे र काली दहमा
रेडी एक , दुई , तीन भनेर
एकैचोटी पिसाब फेरेपछि
तिमी र म खुब पौडी खेल्थ्यौ
तिमीले हाम्रा खोलापाखा छाडेर गएपछि
ती डुम्रे दह र कालीदहहरु
डाइनोसर जस्तै लोप भएर
बालुवा थुप्रेर बनेको चिहान जस्तै भएछन् ।

रातैभरि , दिनैभरि गीत गाउँदै
त्यो पल्लो वस्तिको
सिरान डाँडाबाट बग्ने झर्ना पनि
तिमी नुहाउन जान छाडेपछि त
वेदनाले चिरिएको मेरो छाती जस्तै
हर्टएटेक भएर बन्द भएका रक्तनली जत्तिकै
असक्त र विरक्तिएका देखिदाँ रहेछन् ।

तिमीलाई हेरेर कुर्ले जस्तै कुर्लिने
तामेढुकुरहरु
तिमी बसाइँ सरेपछि
कसैको पनि आंगनमा विस्कुन छर्न आएका छैनन् रे !

साँझमा भ्यागुता र झ्याउँकिरिहरु चिरबिराँउदा
तिमीलाई देखेर खुसी भएका होलान् जस्तो लाग्थ्यो
तिमीले घरको मुलढोकामा भोटेताल्चा लाएर हिडेंदेखि त
कान टालीएर
नारायण गोपालका आवाज पनि कर्कश लाग्न थाल्यो
तिम्रो वर्णन नभएको कथा जस्तो ।

तिम्रो घरको सीधा माथिको आकाश
आजकाल जतिबेलै हेर्दापनि
धुम्मिएर गजधम्म परिरहें जस्तो देख्छु
यस्तो लाग्छ यता
तिमी विना सारा गाउँ निस्ताएर झोक्राएको छ
र उता पनि तिमीलाई
गाउँको यादले कट्कटी ज्यान खाएको छ
समग्रमा तिम्रो बसाइँसराईले सबै विरानो बनाएको छ ।।