एसएसबीले तुइन काट्दा महाकाली नदीमा खसेका जयसिंह अझै भेटिएनन्

1105

दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएका युवा अझै फेला परेका छैनन्। जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ|

घटनाबारे छानविन गरी आवश्यक कारबाही गर्न माग गर्दै व्याँस गाउँपालिकाले स्थानीय प्रशाशन र गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

वडा नम्बर २ का वडा सदस्य वीरेन्द्र बुढाथाकीले वडा कार्यालयले घटनाबारे छानविन र पीडित परिवारलाई तत्काल राहत दिलाइदिन माग गरेको बताए।

‘छानविन र राहतका लागि पनि आग्रह गरिएको छ,’ उनले भने। गाउँपालिकाले पनि प्रशाशन र गृहलाई पत्राचार गरेको छ।

प्रहरीले मुचुल्का बनाएर धामीको खोजी गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेन्द्र चन्दले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा जिल्लाबाट टोली गएको परिचालन भएको बताए।

‘हामीले बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पनि खबर गरिसकेका छौं, घटनास्थलमा स्थानीय चौकीबाट गएका प्रहरीले खोजिरहेका छन्,’ उनले भने।

जिल्लाबाट सशस्त्र प्रहरीका डिएसपी चन्दको नेतृत्वमा घटनास्थलमा जान हिँडेको टोली सदरमुकामबाट भारतकै भूमि हुँदै व्याँस गाउँपालिका-५ मा भएको पुल तरेर ५ घण्टा हिँडेपछि घटनास्थल पुग्ने छ।

जयसिंहसँगै तुइन तरेर पारि गएका चार जनालाई घटनाबारे सोधपुछका लागि प्रहरीले जिल्ला बोलाएको छ। जससिंहसँगै गएका साथीहरूले भारतिय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन झिकेका कारण यस्तो घटना घटेका बताएका छन्।

Leave a Reply