उपत्यकामा निषेधाज्ञा लगाउने

640

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ । उक्त बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने उच्च स्रोतले दाबी गरेको छ ।

ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच बनाइसकेका छौं । अब आज पनि बैठक छ । हामी बसेर थप निर्णय गर्छौं,’ उनले भने ।

यस्तै भक्तपुर जिल्लाका सहायक सीडीओ मुकेशकुमार केशरीका अनुसार सीसीएमसीको आइतबारको बैठकले गरेको सिफारिसका बारेमा थप निर्णय गर्नका लागि तीनै जना सीडीओहरुको बैठक काठमाडौंमा बस्न लागेको हो ।

उनका अनुसार सबै जिल्लाले के गर्ने भनेर सोमबार दिउँसोसम्म केही निर्णय आउने सम्भावना छ । ‘अवस्था जटिल हुँदै गएको छ । त्यसैले उपत्यकाको हकमा के गर्ने भनेर उहाँहरूले हिजो पनि छलफल गरेर एउटा निर्णय गर्नुभयो,’ उनले भने, ‘आज पनि सीसीएमसीको सिफारिसमा केही निर्णय होला ।

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार सोमबार बिहान डी–सीसीएमसीको बैठक बसेर कहिले देखि निषेधाज्ञा जारी गर्ने निर्णय गर्नेछन् । ‘हामीले नयाँ कुनै निर्णय गरेको होइन, ६ गते जारी गरेका आदेशहरुलाई पालना गराउन सिफारिस गरेको मात्रै हो,’ उनले भने, ‘हामीले ६ गते नै अवस्था हेरेर जिल्ला प्रशासनले निर्णय लिन सक्छ भनिसकेका हौं । त्यसैलाई अब कार्यान्वयन गर भनेको हो ।’

मन्त्री त्रिपाठीका अनुसार केही दिनका लागि निषेधाज्ञा जारी हुने भएकाले सर्वसाधारणलाई केही तयारी गर्ने समय पनि दिनुपर्ने भएको बताए । उनका अनुसार डी–सीसीएमसीले काठमाडौं उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञा लागू गर्न सक्छ । ‘अहिलेलाई निषेधाज्ञा मात्रै हुन्छ । तर, यसले पनि स्थिति नियन्त्रणमा नआउने अवस्था भएको खण्डमा भने लकडाउन नै गर्न जरुरी हुन्छ,’ उनले भने, ‘अहिले हाम्रो लक्ष्य मान्छेको आवागमनलाई मात्रै नियन्त्रण गर्नु हो । त्यो निषेधाज्ञाबाटै सम्भव हुन्छ ।-कान्तिपुर

Leave a Reply