कोरोना हटस्पट बन्यो भारत : एकै दिन साढे ३ लाख संक्रमित, २७ सयको ज्यान गयो

515

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिएको छ । काेराेनाकाे दाेस्राे लहर बढेपछि त्यहाँ दिनदिनै संक्रमण पुष्टि हुनेको संख्या उकालो लागिरहेछ भने मृत्यु हुनेको संख्या समेत तिरन्तर बढिरहेको छ । कतिपय शहरमा अक्सिजनकै अभाव भएर हस्पिटलमा समेत उपचार नहुने अवस्था देखिएको छ । अक्सजिन नपाएरै धेरैकाे ज्यान गइरहेकाे बताइएकाे छ ।

केही दिनयता त्यहाँ लगातार ३ लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अर्थात् शनिबार मात्र भारतमा ३ लाख ४९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन शुक्रबार पनि २४ घण्टाभित्र ३ लाख ४५ हजारभन्दा संक्रमित थपिएका थिए ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमितको ज्यान गएको छ । शनिबार त्यहाँ  २ हजार ७६१ जनाकाे ज्यान गएकाे छ । शुक्रबार र बिहीबार क्रमशः २ हजार ६२१ तथा २ हजार २५६ संक्रमितको मृत्यु भएको जनाइएको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६९ लाख ५१ हजार नाघेको छ । यो विश्वमा अमेरिकापछि सबैभन्दा बढी संक्रमित संख्या हो ।यस्तै, भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । त्यहाँ पछिल्लो २ सातायता कोरोना संक्रमणका कारण दैनिक १ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ ।

उता संयुक्त राज्य अमेरिकामा शनिबार ५३ हजार २७५ जना संक्रमित थपिँदा ७४२ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा शनिबार मात्र २ हजार ९८६ संक्रमितको मृत्यु भएको छ भने ७० हजार १०५ जना संक्रमित फेला परेका छन् ।

Leave a Reply