गएको एक महिनामा सुनको मूल्य प्रति तोला पाँच हजार दुई सय रुपैयाँले बढ्यो। विश्वभर कोभिडको दोस्रो लहर सुरु भए सँगै सुनको मूल्य बढ्न थालेको हो। विश्व बजारमा सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्न थालेको छ।
एक महिना अघि ८७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर ९२ हजार दुई सय रुपैयाँमा उक्लियो। नेपाली बजारमा मात्रै सुनको मूल्य बढेको होइन विश्व भरिनै गएको एक महिना देखि सुनको मूल्य पुनः आकासिन थालेको छ। जसले गर्दा नेपालमा पनि सुनको मूल्य बढेको हो।
विश्वभरि कोरोनाको ग्राफ बढ्दै जाँदा अन्तर्राष्ट्रिय लगानीकर्ता सुनमा आकर्षित हुन थालेका छन्। जसले अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढी रहेको छ। कोरोनाले बिश्वभरि नै अनिश्चितता बढाउँदै लगेको छ। विश्व शेयर बजारमा समेत यसको असर देखिन थालेको छ। प्रमुख अमेरिकी शेयर बजार र प्रमुख सुन आयात कर्ता मुलुक भारतमा समेत शेयर बजारमा तीव्र उतार चढाव देखिदा लगानीकर्ताहरू शेयर बजारबाट सुन बजारतर्फ मोडिन थालेका छन्। अमेरिकी, चिनिया र भारतीय लगानीकर्ताहरुले शेयर बजारबाट पैसा झिक्दै सुनमा लगातार लगानी बढाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। जसका कारण पनि सुनको मूल्य दैनिक बढ्दै गएको हो।
उता, अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदै गएको छ भने डलरको तुलनामा भारतीय रुपैयाँ पनि कमजोर हुँदै गई रहेको छ। जसले गर्दा पनि सुन वृद्धिमा टेवा मिलेको छ। डलर कमजोर हुँदै गर्दा उता चीन सरकारले स्थानीय बैकहरूलाई सुन आयात खुला गरिदिएको छ। जसले गर्दा चिनिया बैंकहरूले सुनको माग बढाउन थालेका छन्। चिनिया बैंकहरुले बढाउँदै लगेको सुनको मागले सुनको मूल्य बढाउँदै लगेको छ। यसै पनि चीन सुनका लागि सबैभन्दा ठुलो बजारको रुपमा चिनिन्छ। चीन पछि भारतीय बजार सुनका लागि सबैभन्दा राम्रो मानिन्छ। यी दुवै देशका लगानीकर्ताले सुनको माग बढाइदिँदा सुनको मूल्यमा वृद्धि हुँदै गएको हो।
लगातार बढ्दै गएको मुद्रा स्थितिले समेत सुनको मूल्य बढाउँदै लगेको छ। महङगि बढ्दै जाँदा सुनलाई पनि मूल्य बढ्न थप सहयोग पुगेको छ। कोभिडको कारण भारतमा मुद्रा स्फिति तीव्र देखिएको छ। जसको असर सोझै नेपाली बजारमा समेत पर्ने छ। किनकि भारतीय मुद्रासँग हाम्रो स्थिर विनिमय दर छ। जति भारतीय रुपैयाँ कमजोर हुँदै जाने छ त्यति नै नेपाली रुपैयाँको पनि अवमूल्यन हुन्छ। जसले भारतीय बजारमा सुनको माग बढ्ने र मूल्य बढ्ने दुवै हुँदा नेपाली बजारमा पनि सोझै त्यसको असर गर्छ। नेपाली बजारले सुनको मूल्य नतोक्ने भएकोले पनि सुनको मूल्य वृद्धिमा नेपाली बजारको माग र आपूर्तिले कुनै अर्थ राख्दैन। अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक सुनको मूल्य तोक्दै आएको छ।
यसै गरी सुनको मूल्य बढ्दै जाने हो भने सुनको मूल्य आउने ६ महिनामा प्रति औस २१ सय डलर सम्म पुग्ने अनुमान अमेरिकी सुन बजारमा गर्न थालिएको छ ।यस अघि प्रति औस सूनको मूल्य २०६७.१५ डलर सम्म पुगेको रेकर्ड छ। सुनले २०७७ साउन २७ मा हाल सम्मकै सर्वाधिक मूल्य भेट्टाएको थियो। यही अनुमानका बिच भारतीय बजारमा प्रति १० ग्राम सुनको मूल्य ६० हजार भारतीय रुपैयाँ सम्म पुग्ने अनुमान छ। जुन मूल्यमा पुगे नेपाली बजारमा सुनको मूल्य एक लाख १५ हजार रुपैयाँ भन्दा बढी हुने छ। यस अघि नेपाली बजारमा सुनको मूल्य एक लाख तीन हजार पाँच सय रुपैयाँ सम्म पुगेको रेकर्ड छ।-मेरोलागानी