काठमाडौं। इण्डियन प्रिमियर लिगमा अब दुई खेल मात्र बाँकी छन् । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच दोस्रो क्वालिफायर खेल हुँदैछ । यो खेलको विजेताले पर्सी मंगलबार मुम्बइ इण्डियन्ससँग उपाधिका लागि फाइनल खेल्नेछ । आज हार्ने टिमको लागि भने आजको खेल अन्तिम हुनेछ ।
दिल्ली क्यापिटल्समा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्ध छन् तर उनले अझैसम्म एउटा खेल पनि खेल्न पाएका छैनन् । उनले आजको खेलमा मौका पाउने सम्भावना पनि देखिएको छैन । दिल्लीको टिम व्यवस्थापनले ठूलो परिवर्तनको निर्णय नगर्दासम्म उनी प्लेइङ ११ मा पर्ने सम्भावना देखिँदैन ।
यही बीचमा आइतबार सन्दिपले ट्वीट गर्दै लेखेका छन् ‘जुन कुरालाई हामीले नियन्त्रण गर्न सक्दैनौं त्यस कुराबारे धेरै सोच्न पनि सक्दैनौं । जीवन बुझ्ने ठूलो सिकाइ ।’ उनको यो ट्वीटलाई लिएर उनी आजको खेलमा पनि प्लेइङ ११ मा नपरेको हुन सक्ने अनुमान गरिएको छ । अब १ वा २ मात्र खेल बाँकी रहेको अवस्थामा उनको यस्तो ट्वीट आएपछि सम्भवतः यो सिजन उनी खेल्दै नखेली बित्ने आशंका बढेको छ ।