सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बिहीवार प्रि– अलोटमेण्ट गरेर शुक्रवार बाँडफाँटको तयारी रहेको जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो ।
कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत शेयर विक्री गरेको हो । उक्त कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ ।
हाल रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ । उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ ।