आइपिएल २०२० युएईमा हुने |

1118

२०२० को इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता युएईमा हुने भएको छ। आइपिएलका अध्यक्ष ब्रिजेस पटेलका अनुसार आगामी बैठकले आइपिएल युएईमा गर्ने औपचारिक घोषणा गर्नेछ।

पटेलले आइपिएलको मिति भने खुलाएका छैनन्। यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आइपिएलका ६० खेल गर्ने प्रस्ताव गरेको थियो।त्यसअघि बिसिसिआईले यहि समयमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप औपचारिक रुपमा स्थगितको निर्णय कुरेको थियो। जुन निर्णय आइसिसीले सोमबार गरिसकेको छ। आइपिएलका लागि भारतीय सरकारसँग अनुमति मागिएको छ।

आइपिएल युएईको दुबई, अबुधावी र शारजाहमा गर्न प्रस्ताव गरिएको छ। सबै खेलहरू दर्शकबिनाका रंगशालामा हुनेछन्। आइपिएल युएईमा गर्ने विषयमा फ्रेन्चाइज टिमलाई औपचारिक जानकारी गराउन भने बाँकी छ।गत अप्रिलमा हुने तय भएको आइपिएल कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो। स्थगित आइपिएल सुरुमा भारतमै गर्ने योजना बनाइएको थियो। तर भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि आइपिएल दोस्रो देशमा गर्न कसरत थालिएको थियो।आइपिएल युएईमा गर्न लागिएको यो दोस्रो पटक हो। सन् २०१४ मा निर्वाचनका कारण युएईमा आइपिएलका सुरुका २० खेल खेलाइएको थियो।

Leave a Reply