काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरेका छन् । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि जनाए ।
गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो । सोमबार रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले गलाअवरुद्ध पार्दै भने, ‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो ।’
वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले प्रष्टाए । उनले भने, ‘मैले करबाहेक ६ लाख बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ ।’
आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उनको दाबी छ । प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको उनको भनाइ छ । ‘छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु’, उनले भने ।
विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको उनले बताए । ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्, हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ’, उनले भने ।