धुर्मुस-सुन्तली फाउण्डेसनले गर्न लागेको क्रिकेट प्रतियोगिता स्थगित

601

धुर्मुस–सुन्तली फाउन्डेशनले आजबाट सुरु हुन् लागेको ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ स्थगित गराएको छ ।

लगातार बर्षाको कारण खेल स्थगित गरिएको हो । खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा हुने भनिएको खेल अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । खेल स्थगित भएपनि टिकट खरिद गरेकाहरुले सो टिकट सुरक्षित राख्न पनि फाउन्डेसनले आग्रह गरेको छ । भरतपुर १५ चितवनमा बन्न लागिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना हुन लागेको उक्त प्रतियोगितामा खेलाडी र कलाकारहरुबीच प्रतिष्पर्धा हुनेछ ।

जसमा क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व पारस खड्काले गर्ने छन् भने कलाकारहरुको टिमको नेतृत्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले गर्ने छन् । जसमा पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमाञ्चक २० ओभरको खेल हुने तय भएको थियो भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल आयोजना हुनेछन ।

रंगशाला निर्माण सहयोगार्थ क्रिकेट प्रतियोगिताको आयोजना गरिए तापनि सोबाट आएको रकमको १५ प्रतिशत बारा पर्साका हावाहुरी पीडितका लागि खर्चिने फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले जनाएका छन् । करिब ३ अर्बको लगानीमा निर्माण हुन लागिरहेको क्रिकेट रंगशाला निर्माणका लागि फाउन्डेन आर्थिक संकलनका लागि निरन्तर खटिरहेको छ ।

Leave a Reply